जितपुरसिमरा गोल्डकप : साबिक विजेता चर्च ब्वाइजलाई स्तब्ध पार्दै सिराहा सेमिफाइनलमा प्रवेश

साबिक विजेता चर्च ब्वाइज युनाइटेड क्लबलाई इन्जुरी समयमा स्तब्ध पार्दै सलहेश युवा क्लब सिराहा जगदम्बा स्टिल १४औँ जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार राति सिमरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा गोल गर्दै सिराहाले ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजविरुद्ध रोमाञ्चक जित दर्ता गर्यो। खेलको १४औँ मिनेटमा सिराहाका लागि आशिष चापागाईंले गोल गर्दै अग्रता दिलाएका थिए।
पहिलो हाफ आफ्नो पक्षमा पारेको सिराहाविरुद्ध चर्च ब्वाइजले खेलको ५१औँ मिनेटमा बराबरी गोल गर्यो। चर्च ब्वाइजका राजेश परियारले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काए पनि केहीबेरमै आत्मघाती गोलका कारण चर्च ब्वाइज पुनः २–१ गोल अन्तरले पछाडि पर्यो।
चर्च ब्वाइजका डिफेन्डर एकराज बुढाथोकीले बल क्लियर गर्न खोज्दा गरेको गल्तीले बल गोलमा परिणत भएको थियो। खेलको ६३औँ मिनेटमा आत्मघाती गोलका कारण चर्च ब्वाइज पुनः पछि परेको थियो।
अनुभवी खेलाडीले भरिएको चर्च ब्वाइजले पनि आत्मघाती गोलको फाइदा दिँदै बराबरी गर्यो। खेलको ७३औँ मिनेटमा सिराहाका कप्तान कुलदीप कार्कीले गोल लाइनबाट क्लियर गर्न खोजेको बल गोलमा परिणत हुँदा चर्च ब्वाइज खेलमा फर्किएको थियो। खेलको अन्तिम समयमा बराबरी गोल भएपछि चर्च ब्वाइजको समर्थनमा रहेका दर्शकको हुटिङ स्मरणीय थियो।
अन्तिम समयमा भएको बराबरीपछि निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्न दुवै टिमले आक्रामक खेल खेलेका थिए। तर, इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै सिराहाले चर्च ब्वाइजलाई स्तब्ध बनायो।
सिराहाका लागि शिशिर लेखीले दोस्राे हाफको पाँच मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए। केही सेकेन्ड बाँकी छँदा गोल भएपछि सिराहाका प्रशिक्षक राजीवकुमार यादव उत्साहित हुँदै मैदानभित्र प्रवेश गरेका थिए।
खेलको म्यान अफ दी म्याच सिराहाका शिशिर लेखी घोषित भए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे। शुभारम्भ कलेज अफ म्यानेजमेन्ट सिमराका प्रमुख शम्भु मण्डलले उनलाई पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताअन्तर्गत सोमबार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र मकवानपुर– ११ हेटौँडाबीच खेल हुनेछ ।