छैठौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

ए वान डेस्क
१ जेष्ठ २०८१, मंगलवार १०:००

बाराको सिमरामा छैठौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा शनिबार सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा न्यु सिमरा तेक्वान्दो डोजाङ्गले प्रतियोगिताको आयोजना गरेको हो ।

सिमरास्थित रोयल इभेन्ट मेनेजमेन्टको सभाहलमा शुक्रबार सुरु भएको प्रतियोगितामा मधेसका विभिन्न जिल्लाको ६३ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा आयोजक प्रथम, बारा दोस्रो र धनुषा तेस्रो भएको छ । यसैगरी प्रतियोगिताको पुरुषतर्फको उत्कृष्ट फाइटर निश्चल धामी र महिलातर्फको उत्कृष्ट फाइटर अलिशा अर्जेल घोषित भएका छन् ।

विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, बारा जिल्ला खेलकुद विकास समितिका प्रमुख हेमलाल श्रेष्ठ, नेपाल तेक्वान्दो महासंघ मधेस प्रदेश महासचिव राजकुमार लामा, नेपाल सितोरियो कराँते महासंघ मधेस प्रदेशका प्राविधिक प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा, नेपाल सितोरियो कराँते महासंघ बाराका अध्यक्ष सानु पटेल, लायन्स क्लब अफ सिमरा युथका प्रथम उपाध्यक्ष रविन उपाध्याय, सिमरा फिटनेश सेन्टरका संचालक सुजन स्याङ्तान, नेपाल तेक्वान्दो संघ जीतपुरसिमराका उपाध्यक्ष बाबु मगर, आयोजक डोजाङ्गका अध्यक्ष बिजय शाह ठकुरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि प्रतियोगिताको समापन समारोहलाई नगर उपप्रमुख अधिकारीले सम्बोधन गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै अधिकारीले खेलकुद क्षेत्रको विकास यतिबेला आफूहरुको प्राथमिकतामा रहेको बताए । आयोजक क्लबका अध्यक्ष ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*