सरकार पानी देऊ
चुरे तथा वन जंगल संरक्षणका लागि आह्वान गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानको टोलीले शनिवार काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेको छ । टोलीमा २३ दिनसम्म पैदल हिँडेर सप्तरीदेखि काठमाडौं आइपुगेका २२ जना छन् । चुरे तथा वन जंगल संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले भारदहदेखि चितवन हुँदै काठमाडौंसम्म पैदलयात्रा गरेका थिए ।
जेठ १० काठमाडौं पुगेका उनीहरुले त्यसयता काठमाडौंमा पनि निरन्तर धर्ना र प्रदर्शन गर्दै आएका छन् । पानीका मुहान धमाधम सुक्न थालेका र खानेपानीको हाहाकार भएको भन्दै उनीहरुले त्यसतर्फ सरकार र सरोकारवालाको ध्यान खिचेका छन् । ‘इनार, पोखरी, तलाव सबै सुक्न थाले। जीवन गाह्रो हुन लाग्यो,’ औषधि खाँदै पैदल हिडेर काठमाडौं पुगेका जनकपुरका ५८ वर्षीय नन्दा मुखियाले भने । पैदलयात्राको अभियन्ता सुनिल यादवले संयोजन गरेका हुन् । तराई क्षेत्रमा देखापरेको खानेपानी र सिँचाइका मूलहरूको समस्या चुरे क्षेत्रको बिनाशसँग सम्बन्धित रहेको उनी बताउँछन्। बाराको सिम्रौनगढ नगरपालिका–२ महुआहीका सुनिल आठ वर्षअघिसम्म कलैयाको मोटरसाइकल वर्कसपमा काम गर्थे। त्यो बेला उनले पत्रपत्रिकामा चुरे विनाश, यसको असर र जोगिने उपाय बारे समाचार र लेख पढ्थे। ‘ती पढेर मात्रै हैन कि पछि के हो भनेर मैले आफैंले पनि अध्ययन गरें, बुझें। चुरे र वनजंगल नजोगिए मधेस क्षेत्र समस्यामा पर्ने थाहा भयो। त्यसपछि चुरे जोगाउन अभियान चलाइरहेको छु,’ उनले भने ।
टोलीले १२ बुँदे सुधारका योजनासहित धर्ना दिइरहेको छ । दुई वर्षभन्दा बढी वन क्षेत्रमा कार्यालय प्रमुख भएर बसेका कर्मचारीलाई तत्काल सरुवा गर्न उनीहरूको माग छ। चुरे क्षेत्रका खोलाहरूमा हुने अवैध क्रसर धन्दा र गिट्टीबालुवा दोहन रोक्न ठोस् कदम चाल्नुपर्ने पनि उनीहरूको भनाइ छ। मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी डढेलो नियन्त्रणका योजना बनाउन र ओमप्रकाश भनिने दिलीप महतोलाई प्रथम संरक्षण सहिद घोषणा गर्न पनि उनीहरूले माग गरेका छन्।काठमाडौं पुगेको पैदलयात्राको टोलीमा २२ जनामध्ये १३ महिला छन्।















