हातेमालो सिमराको १७औ स्थापना दिवस सम्पन्न
बाराको जितपुरसिमराउपमहानगरपालिका वडा नम्बर २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं स्थापना दिवस सम्पन्न भएको छ । स्थापना दिवस संस्थाको आफ्नै भवनमा मनाईएको थियो ।
संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । स्थापना दिवसका अवसरमा हातेमालोले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय डा. कृष्ण पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरेको छ । उक्त सम्मान स्वर्गीय डा. पौडेलका भाइ नवराज पौडेललाई प्रदान गरिएको छ ।
यसैगरि यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार २०८१ बाट संचारकर्मी अनिल तिवारी पुरस्कृत भएका छन् । १७ औं स्थापना दिवसका अवसरमा आइतबार हातेमालो बचत तथा ऋण सहकारी संस्थाले संचारकर्मी तिवारीलाई १० हजार राशीको पुरस्कारबाट पुरस्कृत गरेको हो ।
एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी र संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले तिवारीलाई सम्मानपत्र प्रदान गरेका थिए । सहकारी पत्रकारिताबाट पुरस्कृत भएका तिवारी प्रेस चौतारी नेपाल मधेस प्रदेशका उपाध्यक्ष र एपीखबर डटकमका संचालक हुन् ।
हातेमालोले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष एक जना संचारकर्मीलाई सहकारी पत्रकारिता पुस्कार प्रदान गर्दै आएको छ ।
संस्थाले विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थी, उत्कृष्ट बचतकर्ता, ऋण कारोवारकर्ता, जेष्ठ सदस्यलाई समेत सम्मान गरेको छ भने उत्कृष्ट कर्मचारीका रुपमा सुवास लामिछाने, शिक्षा तथा सामाजिक क्षेत्रबाट सुमनकुमार भट्टराईलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा पूर्व मधेस प्रदेशसभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेस नगर सभापति छविलाल शर्मा, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख चन्द्रमणी भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी संचालक शोभा राउत लगायतको उपस्थिती रहेको थियो ।















