केपी ओलीलाई बालेनको कटाक्ष : १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनू

ए वान डेस्क
२१ जेष्ठ २०८१, सोमबार १४:१४

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् ।

गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेका छन् ।

बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको भन्दै बालेनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता नहोला भन्न नसकिने बालेनको आशय छ । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू,’ बालेनले लेखेका छन्, ‘गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन रुष्ट छन् । महानगरपालिकाले सडकको पिच भत्काइसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको डिभिजन सडक कार्यालयले पिच गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेकपा एमालेका रघुबीर महासेठ छन् । यसमै बालेनले एमाले अध्यक्ष ओलीलाई समेत जोड्दै फेसबुकमा आक्रोश पोखेका छन् ।

‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ,’ बालेनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।’

बालेनले न्युरोडको साटो काठमाडौंको रिङरोड र बुटवल–चितवन खण्डको सडक बनाउन शक्ति लगाउन पनि ओलीलाई सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*