तराई–मधेसका जिल्लामा पर्सिसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

ए वान डेस्क
१ असार २०८१, शुक्रबार १२:५५

मध्य र पश्चिमी तराई–मधेसका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेष्ठ ३२ गते आजदेखि असार २ गते पर्सि आइतबारसम्म तातो हावा तथा तातो लहरको सम्भावना औंल्याएको हो । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार पूर्वबाट नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा सक्रिय छ । मधेस ,लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिएको थियो । बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् ।बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका नदीहरुमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।

महाशाखाले आज बिहान साढे ३ बजे अलर्ट जारी गर्दै तमोर नदीको सतह ६ मिटर बढेकाले सतर्क रहन भनेको छ । ‘ तमोर नदी माझिटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह (६ मिटर) भन्दा माथि रहेको र बढ्दो क्रममा रहेकाले तमोर नदी तटीय क्षेत्रमा हुनुहुनेहरूले सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*