महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा पिलुवा विजयी
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आजदेखि महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिता शुरु भएको छ । महेन्द्रनगर युवा क्लबको आयोजनामा महेन्द्रनगर खेल मैदानमा आजदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबिच वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै खरेलले खेल क्षेत्रको विकास गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । खेलकुदले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाईरहेको चर्चा गर्दै खरेलले दक्ष खेलाडी उत्पादनका लागि वडाले खेलकुद गतिविधिका योजना ल्याईरहेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङ, डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष अनिल मैनाली, क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, वडा नं. १६ का पूर्व वडाध्यक्ष केदारनाथ बजगाईं लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन खेलमा पिलुवा विजयी
प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा पिलुवा युवा क्लब विजयी भएको छ । महेन्द्रनगर खेल मैदानमा भएको खेलमा मौवादेवी युवा क्लब बडहर्वालाई ४–१ ले पराजित गर्दै पिलुवाले विजयी शुरुवात गरेको हो । जितसंगै पिलुवा प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार रामनगर क्लब र गैरीगाउँ क्लबबीच खेल हुनेछ ।
महेन्द्रनगर युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिता मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
















