चिसो बढेपछि वीरगञ्ज महानगरका स्कुल तिन दिनका लागि बन्द
वीरगञ्ज महानगरपालिकाले चिसो बढ्दै गएकाले विद्यालयहरूलाई तीन दिनका लागि जाडो बिदा दिन निर्देशन दिएको छ ।
मङ्गलवार एउटा सूचना जारी गर्दै महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यमा चिसोका कारण पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै पुस २४ गते (भोली) देखि पुस २६ गतेसम्म बिदा दिन आग्रह गरेको हो ।
महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतद्वारा जारी सूचनामा विद्यालयहरूको प्रशासनिक कार्य भने नियमित रूपमा सञ्चालन गर्न भनिएको छ । विद्यार्थीहरूलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाउन पनि विद्यालयहरूलाई निर्देशन दिइएको छ ।
विद्यार्थीहरूको हितका लागि यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
जाडो बिदा वर्षे बिदाबाट कटौती गरिने भएकाले पठनपाठनको कार्य तालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मक रूपमा लिन महानगरपालिकाले आग्रह गरेको छ ।
विद्यालय प्रशासनले महानगरपालिकाको निर्णयलाई कार्यान्वयन गर्ने तयारी गरेको छ भने अभिभावकहरूले पनि यसलाई स्वागत गरेका छन् ।
















