पर्साको ठोरीमा तिन दिनदेखि हात्ती आतङ्क

ए वान डेस्क
२५ पुष २०८१, बिहीबार १४:०८

चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट बुधवार बिहान गाउँमा छिरेको जङ्गली हात्तीले पर्साको ठोरीमा ठुलो आतङ्क मच्चाएको छ ।

बिहान ३ बजेतिर ठोरी गाउँपालिका-२ स्थित गौतम नगरमा प्रवेश गरेको हात्तीले चेतबहादुर बस्नेतको घरको बार भत्काएर भकारीमा राखिएको १२ मुरीभन्दा बढी धान खाएको छ ।

त्यस्तै, काजी प्याकुरेलको घर पनि हात्तीले भत्काई घरमा थुपारिएको धान नष्ट गरेको वडाध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए ।

गाउँलेहरूले हो-हल्ला गरेर हात्तीलाई भगाउने प्रयास गरे पनि हात्तीलाई नियन्त्रणमा लिन कठिनाइ भएको स्थानीय जगन्नाथ बस्नेतले बताएका छन् ।

गौतम नगरबाट धपाइएको हात्ती इच्छा नगरमा पसेको र बिहान ११ बजेसम्म त्यही क्षेत्रमा डुलेको थियो । यसले गर्दा स्थानीयवासीमा त्रास फैलिएको थियो । हात्ती रहेको क्षेत्रमा सम्भावित दुर्घटनाबाट बच्न नेपाली सेनाले स्थानीयवासीलाई आवतजावतमा रोक लगाएको थियो ।

घटना तीन दिनअघि ठोरीसँगै जोडिएको निकुञ्जको अमुवा पोस्टमा हात्तीको आक्रमणबाट एक नेपाली सेनाका जवान घाइते भएको घटनापछि भएको हो । घाइते जवानलाई चितवनमा उपचारका लागि लगिएको वडाध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।

हात्तीको लगातारको आक्रमण र क्षतिको घटनाले स्थानीयवासी त्रसित भएका छन् । हात्ती व्यवस्थापन तथा रोकथामका लागि निकुञ्ज प्रशासन र स्थानीय निकायले तत्काल कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*