आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षा तालिका सार्वजनिक
जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत नगर कार्यपालिकाको कार्यालयले आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाको आधारभूत तह कक्षा ८ वार्षिक परीक्षा सञ्चालन समितिको २०८२/११/१७ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा निर्धारित तालिकाअनुसार सञ्चालन गरिने जनाएको हो।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार परीक्षा २०८२ साल चैत १० गतेदेखि चैत १८ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ।
सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई तालिकाअनुसार आवश्यक तयारी गर्न तथा विद्यार्थीहरूलाई समयमै उपस्थित गराउन अनुरोध गरिएको छ।
परीक्षाको पहिलो दिन चैत १० गते, मंगलबार अनिवार्य अंग्रेजी, दोस्रो दिन चैत ११ गते, बुधबार अनिवार्य नेपाली, तेस्रो दिन चैत १२ गते, बिहीबार विज्ञान तथा प्रविधि विषयको परिक्षा हुनेछ । त्यसैगरी चैत १५ गते, आइतबार सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, चैत १६ गते सोमबार स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला,चैत १७ गते, मंगलबार अनिवार्य गणित र चैत १८ गते, बुधबार हाम्रो जीतपुरसिमरा विषयको परिक्षा हुनेछ ।
उपमहानगरपालिकाले परीक्षा शान्त, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।















