बारामा उप–निर्वाचन : वडा अध्यक्षका लागी ९ जनाको उम्मेदवारी
ए वान डेस्क /
बारामा एकवडा अध्यक्ष पदका लागि आज ९ जनाको उम्मेदवारी दर्ता भएको छ । मंसिर १४ मा हुने उपनिर्वाचनमा बारागढी गाउपालिका–१ मा वडा अध्यक्ष पदमा निर्वाचनका लागि रिक्त पदको लागि आज उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दर्ता गराउन पार्टीका नेता, कार्यकर्ता ब्याण्डबाजा बजाएर गाउपालिकाको केन्द्रमा रहेको प्रसूति गृहको भवनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकृत मनिष कुमार साहका अनुसार ९ जनाको मनोनय दर्ता भएको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शंकरप्रसाद चौधरी, नेपाली कांग्रेसले स्व. चौधरीकी पत्नी तस्विरीया थरूनी, समाजवादी पार्टीले सुरेश चौधरी, राष्ट्रिय जनता पार्टी (राजपा) का बैधनाथ चौधरीलाई उम्मेदवार उठाएका छन् । त्यसैगरी, नेपाल जनता पार्टीका वीरेन्द्रप्रसाद राय थारू, नेपाल लोकतान्त्रिक पार्टीका विहारी साह तेली, सिके राउत नेतृत्वको जनमत पार्टीका शंकरप्रसाद चौधरी, राप्रापा (संयुक्त) रामपति देवी र स्वतन्त्रबाट नरेश पासवानले मनोनय दर्ता गराएका छन् ।
राजनीतिक कार्यक्रममा बालबालिका प्रयोग गर्न नपाइने भए पनि बारागढीमा बालबालिकाले समेत पार्टीका झण्डा बोकेको देखिएको थियो। वडा अध्यक्ष नन्दला राय थारूको मृत्यु भएपछि वडा अध्यक्ष पद एक वर्षदेखि रिक्त छ ।
नेपाली कांग्रेसबाट निर्वा्चित उनको २०७५ मंसिर १४ मा मृत्यु भएको थियो ।























