जीतपुरसिमरामा वेथिती बढेपछि चुप बस्न सकेनौ : नगर सभापति गुप्ता

ए वान डेस्क
१९ असार २०७७, शुक्रबार २२:३५

नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगर कमिटीले वेथिती र भ्रष्टाचार बढेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकामा ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

नगर सभापति श्यामबाबु गुप्ताको नेतृत्वमा नगरपालिका पुगेका नेपाली काँग्रेसका नेताहरुले उपमहानगरपालिकाले गत वर्षको आय व्यय सार्वजनिक नगरेको, यस वर्षको नगर सभा हुन नसकेको, कोरोना विशेष अस्थायी अस्पतालमा अनियमिताता भएको लगायतका विषयमा नगर प्रमुख डा. कृष्ण पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र मार्फत काँग्रेसले विकास निर्माणका नाममा उपभोक्ता समितिलाई ढाल बनाएर भइरहेका संस्थागत भ्रष्टाचारको अन्त्य गर्नपनि माग गरेको छ । उपमहानगरमा लक्षित वर्गका नाममा छुट्याइएको बजेट दुरुपयोग भइरहेको भन्दै त्यसको अन्त्य गर्न तथा गत आर्थिक वर्षमा लक्षित वर्गका लागि छुट्याईएको बजेटको आयव्यय सार्वजनिक गर्नपनि माग गरेको छ ।

वडागत रुपमा बजेट विनियोजन गर्दा वैज्ञानिक आधार र मापदण्ड निर्धारण गर्नपनि काँग्रेसले उपमहानगरको ध्यानकर्षण गराएको छ । कोरोना महामारीका कारण मारमा परेका किसान र साना व्यवसायीहरुलाई लक्षित गरि यथाशिघ्र राहतका प्याकेज घोषणा गर्नपनि माग गरिएको छ । औद्योगिक प्रदुषण नियन्त्रणमा उपमहानगरले चासो नदेखाएको भन्दै काँग्रेसले उद्योगका कारण यहाँका नागरिकले भोग्नुपरेको समस्यामा गम्भिर हुन र सबै उद्योगलाई वातावरण संरक्षण ऐन २०७६ को पालना गराउने तर्फ ध्यान दिन नगर प्रमुख पौडेलको ध्यानाकर्षण गराएको छ ।

उपमहानगरको न्यायिक समिति निष्कृय रहेकाले संविधान प्रदत अधिकारको कार्यान्वयन गरि न्यायिक समितिको काम कारवाहीलाई व्यवस्थित बनाउन र कर्मचारी प्रशासनलाई व्यवस्थित गरि सुशासनमा ध्यान दिन पनि काँग्रेसले ध्यानकार्षण गराएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पौडेलले नेपाली काँग्रेसले उठाएका सवालहरुमा आँफू गम्भिर हुने बताएका थिए । नगरका गतिविधिहरुमा चासो देखाएर सचेत बनाउने काम गरेको भन्दै नगर प्रमुख पौडेलले काँग्रेस नगर सभापति गुप्ता सहित सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

यस्तै ध्यानाकर्षण पत्र बुझाउनुको उद्देश्यका विषयमा शुक्रबारनै काँग्रेस जीतपुरसिमरा उपमहानगर कमिटीले सिमरामा पत्रकार सम्मेलन समेत गरेको थियो । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिंदै नगर सभापति गुप्ताले उपमहानगरका गतिविधिहरुलाई तीनवर्ष सम्म नजिकबाट नियालेको र अहिले वेथिती ह्वातै बढेकाले आँफूहरु बोल्नु परेको बताए । ‘हामीले तीनवर्ष हे¥यौं, तर अब हामी चुप लाग्यौं भने उपमहानगरको अवस्था पुरै नाजुक हुनेछ’ सभापति गुप्ताले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद शोभाकर पराजुली, प्रदेश सभा सदस्य शोभा लामा, काँग्रेस जीतपुरसिमराका कृष्णव्रत सिंह, नारायणी रायमाझी, हरि थपलिया, सुशील ढोंडारी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*