जीतपुरसिमरा १ : अध्यक्षका लागी एमालेद्धारा चार जनाको नाम सिफारिस
नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को वडाध्यक्ष पदका लागि चार जनाको नाम सिफारिस गरेको छ । वडाध्यक्ष पदका लागि हिरा बस्नेत, गौरव नेपाल, सुभद्रा न्यौपाने र गणेश शाह ठकुरीको नाम वडा कमिटिले सिफारिस गर्ने निर्णय गरेको हो ।
उम्मेदवार चयन गर्न आज बसेको वडा कमिटिका बैठकमा सहमती जुट्न नसकेपछि वडा कमिटीले चारै जनाको नाम नगर कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस गरिएका मध्ये बस्नेत अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । २०७४ सालको निर्वाचनमा दोस्रो स्थानमा रहेका बस्नेतले यसपटक पनि अध्यक्ष पदका लागि दावी प्रस्तुत गर्नुभएको छ ।
यसैगरी सिफारिस गर्ने निर्णय भएका अन्यमा न्यौपाने कार्यपालिका सदस्य, नेपाल युवा संघ नगर कमिटी अध्यक्ष हुनुहुन्छ । बैठकले वडाध्यक्षबाहेक अन्य चार पदमा भने सहमती जुटाएको छ । सहमती भएका अन्य पदमा खुल्ला सदस्यतर्फ ईश्वर थपलिया, नारायण लामा, महिला सदस्यमा लक्ष्मी आचार्य र दलित महिला सदस्यमा शान्ति परियार रहेका छन् ।
सदस्यमा सिफारिस भएका थपलिया एमालेको वडा नं. १ को वडा कमिटी अध्यक्ष, लामा वडा कमिटी उपाध्यक्ष र आचार्य जिल्ला कमिटी सदस्य हुन् ।























