बाराको निजगढमा एमाले विजयी

ए वान डेस्क
४ जेष्ठ २०७९, बुधबार १७:३५

बाराको निजगढ नगरपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत शम्भुप्रसाद बरालका अनुसार मेयरमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ निर्वाचित भएका छन् ।

एमालेका पुरीले ६ सय ५२ मतले कांग्रेसका उम्मेदवार सुरेश खनाललाई पराजित गरेका हुन् । पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी खनालले ८ हजार ८ सय २३ मत प्राप्त गरे ।

यसैगरी एमालेकी सोममाया थिङ निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार रविराज दंगाललाई १ सय ४१ मतले पराजित गर्दै उमपेयरमा विजयी भएकी छिन् । थिङले ८ हजार ६ सय ५९ मत प्राप्त गरिने भने उनकी निकटतम दंगालले ८ हजार ५ सय १८ मत ल्याए ।

२०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादीले मेयर र उपमेयरमा गठबन्धन गरेको थियो । मेयरमा पराजित सुरेश खनाल त्यसबेला विजयी भएका थिए भने उपमेयरका उम्मेदवार बेनीबहादुर मोक्तान पराजित भएका थिए ।

मोक्तानलाई उछिनेर एमालेकी उपप्रमुख उम्मेदवार लीला लामिछाने विजयी भएकी थिइन् । यसैगरी त्यो बेला एमालेका प्रमुख पदका उम्मेदवार नारायण खड्का पराजित भएका थिए ।

बाराको कलैया उपमहानगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणमअनुसार एमालेका मेयर उम्मेदवार विनोद साहले १३ हजार ३ सय २१ मत ल्याएर गठबन्धनबाट कांग्रेस उम्मेदवार राजेश राय यादवलाई पछि पारेका छन् । राजेशको मत ८ हजार ६ सय ५९ रहेको छ । राजेशभन्दा विनोद ४ हजार ६ सय ६२ मतले अगाडि छन् । यसैगरी एमालेकी उपमेयर उम्मेदवार रौशन प्रविणले गठबन्धनबाट जसपाका उपप्रमुख उम्मेदवार प्रमोद गुप्तालाई १ हजार १ सय ९३ मतले पछाडि पारेकी छिन् ।

प्रविनले ९ हजार ३ सय ४७ मत ल्याएकी छिने भने गठबन्धनका प्रमोदले ८ हजार १ सय ५४ मत ल्याएर दोस्रो स्थानमा छन् । जितपुर सिमरामा गठबन्धनका माओवादीका प्रमुख पदका उम्मेदवार राजन पौडेलले एमालेकी सरस्वती चौधरीलाई उछिनेर अग्रता दिएका छन् । उपप्रमुख पदमा एमालेका भोला अधिकारीले गठबन्धनकी कांग्रेस तर्फकी उपमेयर पदकी उम्मेदवार मेघा शाहीलाई दबाबमा पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*