बाराका निर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ
ए वान डेस्क /
बाराका निर्वाचित जनप्रतिनिधिहरुले आज शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश खिलनाथ रेग्मीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।
जिल्ला अदालत बाराको सभाकक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई ईश्वर, देश र जनताको नाममा रेग्मीले शपथ खुवाउनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले निर्वाचित जनप्रतिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गर्नुभयो ।
उहाले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिड्नु पर्ने बताउनुभयो ।
आफ्नो पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउन सबै लाग्नु पर्नेमा जोड दिदै उहँले स्थानीय तहको दोस्रो निर्वाचन भएका कारण गाउपालिका तथा नगरपालिकामा धेरै ऐन नियम र कार्यविधि निर्माण भएको बताउनुभयो । शपथ लिएका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने रेग्मीले बताउनुभयो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेका छन् ।























