बारा क्षेत्र नम्बर ४ : साझा गठबन्धनलाई सघाउने काग्रेसको निर्णय
ए वान डेस्क /
नेपाली काग्रेसले साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । बाराको सिमरामा आज बसेको काग्रेसको क्षेत्रिय कार्य समितिको बिस्तारित बैठकले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
५ दलिय साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यमा कृष्ण कुमार श्रेष्ठ किशान, ४ क मा क्षेत्र बहादुर श्रेष्ठ अनिल, ४ ख मा जितेन्द्र सोनल उम्मेदवार बन्नुभएको छ । बैठकले निर्वाचनको प्रचार अभियानमा हातेमालो गर्दै अघि बढ्ने निर्णय गरेको छ । बारा क्षेत्र नम्बर ४ मा उम्मेदवार नपाएपछि काग्रेस रुष्ट बनेको थियो ।
तर काग्रेसको आज बसेको कार्य समितिको बिस्तारीत बैठकले साझा गठबन्धनका तिनै जना उम्मेदवारलाई भारी मतले विजयी गराउने निर्णय गरेको हो । नेपाली काग्रेसका क्षेत्रिय सभापति सुनिल गुप्ताले साझा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने निर्णय भएको बताउनुभयो ।
‘साझा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेपाली काग्रेस दृढ रुपमा लाग्ने निर्णय भएको छ, अब काग्रेसका सबै नेता कार्यकर्ताहरु एक भएर लाग्ने यहाहरुलाई जानकारी गराउन चाहन्छु’ क्षेत्रिय सभापति गुप्ताले भन्नुभयो । क्षेत्रिय कार्य समितिको बिस्तारित बैठकमा नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, साझा गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशान, नेपाली काग्रेसकी केन्द्रिय सदस्य नारायणी रायमाझी निरु, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह लगायतको उपस्थिति रहेको थियो ।























