धमाधम मन्त्री छान्दै दलहरू, साँझ पाँच बजे शपथको तयारी

माओवादी र रास्वपाले टुंग्याए, एमाले मन्त्री चयन गर्दै, जसपा अनिर्णित
ए वान डेस्क
२३ फाल्गुन २०८०, बुधबार १५:३१

नयाँ सत्तागठबन्धनमा सहभागी दलहरू मन्त्रिपरिषदमा पठाइने मन्त्रीहरूको चयनमा व्यस्त भएका छन् ।

आजै साँझ ५ बजे मन्त्रालयगत जिम्मेवारीसहित मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयबाट ५ बजेका लागि शपथको तयारी गर्न जानकारी आएको जनाएको छ ।

सरकारमा सबैभन्दा ठूलो दल एमाले आठ मन्त्रीसहित सहभागी हुँदै छ । एमालेको नेतृत्व रघुवीर महासेठले गर्दै छन् । उनी उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री बन्दै छन् । एमालेबाट पदम गिरीले विनाविभागीय मन्त्रीको शपथ लिइसकेका छन् । अन्य मन्त्री चयनको क्रम चलिरहेको एमाले नेताहरूले जानकारी दिए ।

सरकारको नेतृत्व गरिरहेको माओवादीले पाँच मन्त्रालय पाएको छ ।
यसअघि उपप्रधानमन्त्रीसहित गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्दै छन् । अर्थ मन्त्रालयको जिम्मेवारी वर्षमान पुनले पाउँदैछन् भने यसअघिका दुई मन्त्री रेखा शर्मा र शक्ति बस्नेत दोहोरिएका छन् । शक्तिले ऊर्जा, जलस्रोत तथा सिँचाइमै र शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा दोहोरिँदै छिन् । विनाविभागीय मन्त्रीको शपथग्रहण गरिसकेका हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्दै छन् ।

रास्वपाले चार मन्त्रालय पाएको छ । उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछाने, श्रम मन्त्रालयमा डिपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठ बन्दै छिन् ।

चारदलीय गठबन्धनमा रहेको जसपाले भने अहिलेसम्म मन्त्रीको नाम टुंग्याएको छैन । सरकारमा सहभागिताका लागि औपचारिक प्रस्ताव पाएको एकीकृत समाजवादी अहिले बैठक बसिरहेको छ ।

एकीकृत समाजवादी स्रोतका अनुसार दुई मन्त्री लिएर आजै सरकारमा सहभागी हुने सम्भावना देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*