६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै

ए वान डेस्क
२० जेष्ठ २०८१, आईतवार १३:४३

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।

नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ ।

यादवले लोसपा समेत नयाँ सरकार गठनको पक्षमा रहेको दाबी गरे पनि लोसपाले नयाँ समीकरणमा जाने या नजाने भन्ने निर्णय गरिसेको छैन । यो प्रदेशमा लोसपाका नौ जना सांसद छन् ।

यसअघि केन्द्रमा नयाँ समीकरण बनेसँगै एमाले र माओवादी जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट फिर्ता भएको थियो । आइतबारै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका थिए । त्यसअघि नै सात दल नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकोमा जान लागेका हुन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*