आफूलाई कालोझण्डा देखाएपछि प्रचण्डले भने– तपाईंहरुले ब्लण्डर गर्नुभयो
सहकारीपीडितले कालो झण्डा देखाएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आक्रोशित बनेका छन् । बुधवार सूर्यदर्शन सहकारी पीडितले पोखरा सभागृहमा प्रचण्डलाई कालो झण्डा देखाएपछि उनी आक्रोशित भएका हुन् ।
आक्रोशित हुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले सहकारीपीडितहरूकै पक्षमा काम गर्दा पनि उनीहरू भने गलत बाटोतिर लागेको टिप्पणी गरेका छन् । उनले सहकारी पीडितलाई कालो झण्डा देखाउनेजस्तो बुद्धितिर नलाग्नसमेत आग्रह गरे ।
‘तपाईँहरूले नबुझिकन कालो झण्डा देखाउनुभो । जुन सरकार तपाईँहरूकै पक्षमा लडिरहेको छ र भर्खरै पाँच लाखको दरले तपाईँहरूको बचत फिर्ता लिने जिम्मा लिएको छ । त्यो सरकारलाई कालो झण्डा देखाउनु तपाईँहरूले ठूलो ब्लन्डर गर्नुभो, यस्तो बुद्धितिर नलाग्नू,’ उनले भने ।
आफू नेतृत्वको दल नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रचण्डलाई सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका थिए । त्यसलगत्तै पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सककारीपीडितका गतिविधिविरुद्ध आक्रोश पोखेका हुन् ।
प्रहरीले गरेको धरपकडपछि दुईजना सामान्य घाइते भएका थिए । सूर्यदर्शन बचतपीडित संघर्ष समिति र सहकारी बचत पीडित संघर्ष संघ कास्कीले विज्ञप्ति निकाल्दै घाइते भएका ७५ वर्षीय भीमप्रसाद चपाईं र ३० वर्षीया अनुराधा श्रेष्ठको उपचारको माग गरेको छ ।























