युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पेसा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् ।
आगामी जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक दलका अध्यक्ष लिङदेनले त्यसको पूर्वसन्ध्यामा अन्तरसंवाद गर्न लागेका हुन् ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा उक्त संवाद आयोजना गरिएको छ ।
जसको नाम ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ?’ दिइएको छ ।
सो कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए ।
राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नैपर्ने आवश्यक्ता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो ? हिन्दू राष्ट्र पुनस्र्थापना र संघीयताको खारेजी गनुर्पर्ने कारण के हो ? आन्दोलनमा युवा किन सहभागी हुने ? जस्ता जिज्ञासा मेटाउनेगरी अध्यक्ष लिङ्देनले जवाफ दिने बताइएको छ ।
राप्रपाले बोकेका राजनीतिक एजेण्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरुले जिज्ञासा राख्नसक्ने गरी कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।
राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरुलाई आमन्त्रित गरेको छ ।
यसअघि पनि राप्रपाले प्रवुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरू आयोजना गर्दै आएको थियो ।
यसक्रममा संयुक्त जनआन्दोलन समितिले आबद्ध दलहरुसँग निरन्तर बैठक, आ–आफ्ना मातहतका कमिटीहरूसँग छलफल र लक्षित वर्गहरूसँग तयारी बैठक गरिरहेको छ ।
























