मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्धारा औद्योगिक क्षेत्रको अवलोकन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज सप्तरी जिल्लामा अवस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् ।
वि.सं.२०४४ सालमा स्थापना भएको यो औद्योगिक क्षेत्रमा विभिन्न समस्याहरूका बाबजुद हाल १२ वटा उद्योग सञ्चालनमा रहेको छ भने थप १० वटा प्लट नयाँ उद्योग स्थापनाको प्रतिक्षामा रहेको छ ।
औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानीलगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरिसकेको बताउदैं मुख्यमन्त्री सिंहले सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको उल्लेख गरे ।
मुख्यमन्त्री सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको प्रचुर सम्भावना रहेको बताए ।
मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको मुख्यमन्त्री सिंहले स्पष्ट पारेका छन् ।
सो अवसरमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कामु कार्यालय प्रमुख मनिष कुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहसमक्ष औद्योगिक क्षेत्रको वर्तमान अवस्था र विद्यमान समस्याबारे विस्तृत जानकारी गराएका थिए।