एमाले उम्मेदवार किसान श्रेष्ठद्वारा जितपुरसिमराबाट घरदैलो अभियान सुरु

ए वान डेस्क
५ फाल्गुन २०८२, मंगलवार २०:००

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले बारा क्षेत्र नं. ४ मा आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। यसै क्रममा मंगलबार जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ बाट एमालेले औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा र प्रतिबद्धताहरू प्रस्तुत गरे। घरदैलोका क्रममा उम्मेदवार श्रेष्ठले जनताका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिँदै ती समस्या समाधानका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

उम्मेदवार श्रेष्ठले यस क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, कृषि र युवा लक्षित विशेष कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको उल्लेख गरे। साथै उनले आगामी निर्वाचनमा जनताको समर्थनसहित भारी मतले विजयी हुने विश्वास व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो। मतदाताहरूले आफ्ना गुनासा, सुझाव र विकासका अपेक्षाहरू उम्मेदवारसमक्ष राखेका थिए।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको ठुलो उपस्थितिले चुनावी माहोललाई थप उत्साहजनक बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*