पाँच दलले मात्रै कटाए थ्रेस होल्ड, राप्रपा र नयाँ शक्ति ‘आउट’

ए वान डेस्क
२ पुष २०७४, आईतवार १४:३८

समानुपातिकको अन्तिम नतिजा अनुसार पाँच पार्टी मात्रै राष्ट्रिय दल बन्न सफल भएका छन्। तीन प्रतिशत थे्रस होल्ड कटाउनु पर्ने व्यवस्थाका कारण नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र मधेसी जनअधिकार फोरम मात्रै राष्ट्रिय दल बन्न सफल भएका हुन्।

एमाले पहिलो, कांग्रेस दोस्रो
३० प्रतिशत मत ल्याएर एमाले पहिलो दल बनेको छ। प्रत्यक्षमा ८० स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत ल्याएको छ।

कांग्रेसले ३१ लाख २ हजार ३८९ मत पाएर दोस्रो दल बनेको छ। कांग्रेसले २९.५४ प्रतिशत मत ल्याएको छ। प्रत्यक्षतर्फ कांग्रेसले २३ सिट मात्रै जितेको छ। १२.३१ प्रतिशत मत ल्याएर माओवादी तेस्रो दल बनेको छ। प्रत्यक्षमा ३६ सिट जितेको माओवादीले समानुपातिकमा १३ लाख ३ हजार ५२१ मत पाएको छ।

फोरम र राजपा राष्ट्रिय दल
त्यसैगरी ४.४६ प्रतिशत मत ल्याएर राष्ट्रिय जनता पार्टी नेपाल चौथो दल बनेको छ। राजपाले समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत ल्याएको छ भने ११ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरमले राजपाकै हाराहारी मत ल्याएको छ। उसले ४.४४ प्रतिशत मत प्राप्त गरेको छ। प्रत्यक्षमा १० सिट जितेको फोरमले समानुपातिकतर्फ ४७ हजार २०१ मत प्राप्त गरेको छ।

राप्रपा र नयाँ शक्तिको बिजोग
१-१ सिट जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले ३ प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन सकेनन्। निर्वाचनको समय चर्चामा रहेको विवेकशील साझा पार्टीले २ प्रतिशत मत मात्रै प्राप्त गरेको छ। विवेकशीलले २ लाख १२ हजार ३६३ मत प्राप्त गरेको छ।

राप्रपाले १.८५ प्रतिशत मत प्राप्त गरेको छ। उसले १ लाख ९६ हजार ७४२ मत प्राप्त गरेको छ। नयाँ शक्ति, जनमोर्चा र नेमकिपाले १ प्रतिशत मत समेत कटाउन सकेका छैनन्।

औपचारिक घोषणा हुँदै
गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभामा देशभर कुल १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका गणना सकिएको औपचारिक घोषणाको तयारी भइरहेको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*