अमलेखगंजमा पिउने पानीको समस्या उस्तै

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको २१ नं. वडा अमलेखगंजवासी पिउने पानी अभावमा पीडामा छन् । वडामा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ५७० घरपरिवार उपभोक्ता छन् । दैनिक १ घण्टा मात्र पानी धारामा आउँछ । तर पानीको महशुल भने मासिक १ सय रुपैयाँ बुझाउनुपर्ने उपभोक्ताहरूलाई बाध्यता छ ।
“हिसाब गर्ने नै हो भने बढीमा ५० रुपैयाँ मासिक हुन जान्छ । तर १ सय रुपैयाँ समितिलाई बुझाउनुपर्छ,” स्थानीयहरूले भने । त्यस्तै खानेपानी उपयोग गरेबापत केही स्थानीय ठूलाठालूले मासिक शुल्क बुझाउने गरेका छैनन् । धारामा पानी नै नआए पनि सोझासाझाले महशुल बुझाउनुपर्ने तर ठूलाठालूहरूले महशुल नतिर्ने प्रवृत्ति अमलेखगंजमा छ ।
जाडो महिनामा पनि पानीको अभाव हुने यहाँ गर्मी महिनामा खानेपानीको पीडा कहालीलाग्दो छ । “टोल अनुसार दिनमा १ घण्टा मात्र धारामा पानी खानेपानी समितिले छोड्छ । जाडो महिनामा त पानी पुग्दैन भने गर्मीको बेलाको त कुरै छोडौं,” स्थानीयहरू भन्छन् ।
“गर्मीको बेला पाहुनालाई पेटभरि मीठो मसिनो खाना दिन सकिन्छ । तर पानी पु¥याउन कठिन हुन्छ,” स्थानीयहरू भन्छन् । “भन्नलाई पनि लाजै लाग्ने, नभन्दा पानी पनि दिन गा¥हो भन्ने पर्न सक्छ,” एक महिलाले भनिन् ।
राणा प्रधानमन्त्री देव शमशेरको पालामा बनेको पुरानो पानी टङ्कीको संरचनामा मुहानबाट ल्याएको पानी सङ्कलन गरी खानेपानी समितिले पानी वितरण गरिरहेको छ । २४ लाख लिटर पानी अट्ने क्षमताको सो टङ्की १८ फिट गहिरो छ । तर सरसफाइ भने वर्षौंदेखि नभएको कर्मचारीहरू स्वयम् बताउँछन् ।
खानेपानी समितिको हाताभित्र ४ लाख लिटर क्षमताको टङ्की निर्माण गरिंदैछ । जिल्ला खानेपानी कार्यालय बारामार्पmत् ४५ लाख रुपैयाँ आउने भएपछि चकरीमा डिप बोरिङ गरिएको थियो । ४३० फिट गहिरोसम्म पाइप धसाउँदा पनि पानी भने निस्कन सकेन । करिब १९–२० लाख रुपैयाँ खर्च भयो, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछानेले भने । बाँकी रहेको रकमबाट नयाँ पानी टङ्कीको निर्माण थालिएको उनले बताए ।
पानी सङ्कलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो । तर गएको वर्षामा लगभग ५ किलोमिटरसम्मको पाइपलाइन बगाउँदा पानी सङ्कलन गर्न समस्या भइरहेको अध्यक्ष लामिछानेले बताए । उनले नयाँ बिजौरी मुहान आज शनिवारबाट सुचारु गरी दिनमा २ घण्टा पानी धारामा छोड्न थालिएको जानकारी दिए ।
यहाँको जनसङ्ख्या लगभग आठ/नौ हजारको हाराहारीमा छ । चुरे पहाडकै फेदमा रहेको अमलेखगंज बस्तीमा खानेपानीको समस्या र हाहाकार जो कोहीलाई पत्याउनै गा¥हो पर्छ । पानी रिचार्ज गरी तराईका फाँटलाई हराभरा, उर्वरयुक्त गर्ने भनिए पनि चुरे पहाडकै काखमा रहेको यस बस्तीमा खानेपानीको समस्या सा¥है दुःखदायी छ ।
यो समाचार हामिले प्रतिक दैनिकबाट लिएका हौ