पर्सामा कांग्रेसका क्षेत्रीय सभापति कुटिए, माओवादीका दुई नेतामाथि कारबाही

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका दलका नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको छ ।
चुनावमा पराजित कांग्रेस, एमाले, माओवादीका नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेको हो । साथै चुनावी हारको मुख्य कारण अन्र्तघातलाई मानेका छन् ।
दोस्रो संविधानसभामा पर्सा ५ क्षेत्र थियो र एमालेले तीन तथा कांग्रेसले दुई क्षेत्र जितेको छ । तर, अहिले जिलमा चार वटा निर्वाचन क्षेत्र कायम भएको छ र तीन क्षेत्र राजपाले जित्दा एउटामा राजपा विजयी भएका छन् ।
एमाले र माओवादीले मिलेर चुनाव लड्दा पनि प्रतिनिधिसभा मात्र होइन, प्रदेशसभामा पनि जित्न सकेनन् भने कांग्रेस प्रदेशसभाको २ क्षेत्रमा सिमिति रह्यो ।
माओवादी केन्द्रका दुई नेता कारबाहीमा
प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा पार्टी हित विपरित काम गर्ने भन्दै माओवादीले दुई नेतामाथि कारबाही गरेको छ ।
निर्वाचनमा पार्टीलाई असहयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै नेता जालिम मियाँ र बाबुराम कौशिकलाई माओवादी पर्साले कारवाही गरेको हो । क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेकी उर्मिला अर्याललाई असयोग गरेको आरोपमा दुबै नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।
मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन् भने कौशिक पूर्व जिल्ला संयोजक हुन् ।
कांग्रेसका क्षेत्रीय सभापति नै कुटिए
चुनावको परिणाम आएपछि पर्साका काँग्रेसका कार्यकर्ता तथा नेताहरुबीच मनमुटाव बढेको छ । सार्वजनिक रुपमै उनीहरुले एक अर्काको आलोचना गर्न थालेका छन् ।
चुनावको समिक्षा गर्न कांग्रेस जिल्ला पर्सा सम्पर्क कार्यालय वीरगञ्जमा डाकिएको बैठकमा नेताहरुबीच कुटाकुट भएको छ । क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द कुमार गुप्तालाई युवा नेता ईम्तीयाज आलमका सर्मथकहरुले कुटेका हुन् ।
एक नेताले बताए अनुसार उनीहरुबीच कार्यक्रमको अध्यक्षता कसले गर्ने भन्ने विषयमा विवाद भएको थियो ।
केहिदिन अघि भएको क्षेत्र नं ३ को भेलाले पार्टीका नेताहरुको असहयोगका कारण हार ब्यहोर्नु परेको निष्कर्ष निकाल्दै त्यस्ता नेताहरुलाई कारवाही गर्न माग गरेको छ ।
एमालेभित्र पनि किचलो
एमालेभित्र पनि किचलो सुरु भएको छ । कतिपय स्थानमा सही उम्मेदवार दिन नसकेको र कतिपय स्थानमा पार्टी भित्रैबाट अन्र्तघात भएको नेताहरुले बताएका छन् ।
केही क्षेत्रमा भने गठबन्धनको सहयात्री माओवादी केन्द्रले असहयोग गरेको आरोप एमालेका नेता कार्यकर्ता लगाउँछन् । एमालेमा चुनावमा असहयोग गरेको भन्दै ट्रेड युनियन पर्साका अध्यक्ष सुवेदार यादवलाई कारबाहीको माग भएको छ ।