२०१७ लाई फर्केर हेर्दा यस्तो थियो नेपाल ..

ए वान डेस्क
१६ पुष २०७४, आईतवार १६:५८

अंग्रेजी नयाँ वर्ष २०१७ आइतबार सकिंदैछ । सोमबारदेखि सन् २०१८ सुरु हुन्छ । नयाँ वर्षको स्वागत गर्दा पुरानो वर्षको पनि सम्झना गरिन्छ । सन् २०१७ मा विश्वका अरु घटनाजस्तै देशभित्रका केही घटना पनि सम्झनलायक छन् ।

चुनाव सबैभन्दा ठूलो उपलब्धी
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा अङग्रेजी वर्ष २०१७ नेपाल र नेपालीका लागि विभिन्न कारणले गर्दा विशेष रह्यो । नयाँ संविधानले व्यवस्था गरे अनुसार नेपालमा तीन तहको चुनाव हुनु यो वर्षको सबैभन्दा ठूलो उपलब्धी हो ।

अंग्रेजी वर्षको फेब्रुअरीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा ऐतिहासिक स्थानीय तह चुनावको मिति घोषणा गर्नुभयो । संविधान घोषणादेखि नै असन्तुष्टी जनाउँदै आएका मधेसी दलले चुनाव बहिष्कार गर्ने घोषणा गरे । उनीहरुको बहिष्कारका बाबजुद पहिलो चरणमा स्थानीय तह चुनाव वैशाख ३१ गते सम्पन्न भयो ।

पहिलो चरण चुनाव सकिएपछि ०७४ जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । नेपाली कांग्रेससँग सरकारको आलोपालो नेतृत्व गर्ने सहमति कार्यान्वयनको लागि उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

०७४ जेठ २३ गते व्यवस्थापिका–संसदको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित गर्योे । उहाँ चौथो पटक नेपालको प्रधानमन्त्री बन्नु भएको हो । प्रधानमन्त्री बन्ने दौडमा देउवा एक्ला उम्मेदवार हुनुहुन्थ्यो । देउवाको पक्षमा ३ सय ८८ सांसदले मतदान गरेका थिए ।

देउवा नेतृत्वको सरकारले जेठ ३१ को लागि तोकेको दोस्रो चरण स्थानीय चुनावमा मधेशी दललाई पनि सहभागी गराउने भन्दै असार १४ को लागि नयाँ मिति घोषणा गर्यो । यो चुनावमा मधेश केन्द्रित दल संघीय समाजवादी पार्टीले भाग लियो । राजपा नेपालले भने यो चरणको चुनाव पनि बहिष्कार नै गर्यो । दोस्रो चरणमा सरकारले २ नम्बर प्रदेशमा स्थानीय तह चुनाव गरेन । २ नम्बर प्रदेशमा असोज २ का लागि तेस्रो चरण चुनावको मिति तोकियो ।

यो चुनावमा भने राजपा नेपालले पनि सहभागी हुने निर्णय गर्यो । शान्तिपूर्वक रुपमा तीन चरणमा नेपालमा ऐतिहासिक स्थानीय तहको चुनाव सम्पन्न भयो ।

०७४ साल माघभित्र नेपालमा तीन चरणका चुनावमार्फत नेपाललाई संघीय संरचनाको सरकारले चलाउने गरी संवैधानिक व्यबस्था रहेको थियो । सोही व्यबस्था अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई चरणमा गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव एकैपटक सम्पन्न गर्यो । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा चुनावबाट नेकपा एमाले देशको ठूलो दलको रुपमा उदाएको छ ।

चुनावको समयमा दुई मुख्य कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले गरेको चुनावी तालमेलले पनि नेपालमा राम्रै चर्चा पायो । दुई कम्युनिष्ट पार्टी एकता गर्ने निर्णयसहित चुनावमागएपछि यसले नेपालको राजनीतिक वृत्तमा हलचल नै मच्चायो ।

चुनाव लगत्तै सन् २०१७ को अन्त्यतिर एमाले र माओवादीले मिलेर सरकार चलाउने चर्चा भएपनि यसले मूर्त रुप पाउन अझै केही हप्ता लाग्ने देखिन्छ ।

निर्वाचन क्षेत्र परिवर्तन गरेर आफ्नो गृहजिल्ला चितवनबाट पहिलोपटक प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू गृहजिल्लाको उम्मेदवार भैरहँदा जति क्रियाशील हुनुभएको थियो, चुनावी प्रचारका लागि उहाँका पुत्र प्रकाश दाहाल त्योभन्दा धेरै क्रियाशील रुपमा लाग्नुभएको थियो ।

चितवनबाट चुनावी कार्यक्रमको तयारीका लागि काठमाडौं आएका प्रकाश दाहालको ०७४ मंसिर ३ गते हृदयघातका कारण निधनभयो । प्रकाशको निधनले सबैलाई भावबिह्वल बनायो ।

महाअभियोग र कारवाही
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कारवाहीकाे विषय होस् वा महालेखा परीक्षकका प्रमुख चुडामणी शर्मा र नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले गरेका अनियमितताका बिषय हुन, यी विषयले पनि नेपालमा वर्ष २०१७ भरी नै चर्चा पाइरहे ।

नेकपा एमालेसँग सरकारको सहकार्य तोडेर आफ्नो नेतृत्वमा सरकार बनाएको माओवादी कांग्रेसको संयुक्त सरकारले प्रधानन्याधीशमाथि महाअभियोगको प्रस्ताव संसदमा लगेर होस् वा प्रहरी प्रमुख नियुक्तिको विवादमा होस्, यी घटनाले यो वर्षभरी नै चर्चा पाइरहे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई एमाले, माओवादीका सांसदले संसदमा दर्ता गराएको महाअभियोगको प्रस्तावले पनि यो वर्ष नेपालमा ठूलो चर्चा पायो । कार्कीलाई अख्तियारबाट हटाउनका लागि दल तथा अदालतलाई हम्मेहम्मे नै पर्यो ।

प्रधानन्यायाधीश सुशिला कार्कीलाई कांग्रेस माओवादी नेतृत्वको सरकारले दर्ता गराएको महाअभियोग प्रस्तावले पनि यो वर्ष ठूलो चर्चा पायो । संसदबाट पारित हुन नसकेको यो प्रस्तावको ठूलो विवाद भएको थियो ।

प्रहरी प्रमुख नियुक्तिको विषयले पनि यो बर्ष नेपालमा चर्चा पायो । सरकारले प्रहरी प्रमुखमा आफूभन्दा कनिष्टलाई प्रहरी प्रमुख बनाएको भन्दै सरकारले सिफारिस गरेका जयबहादुर चन्दका विरुद्ध अर्का डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा मुद्धा हालेपछि यो विवादले ठूलो रुप लिएको थियो ।

आफू प्रहरी प्रमुख हुन पाउनुपर्ने दावीसहित अदालतमा गएका सिलवालको सट्टा प्रकाश अर्याल प्रहरीको प्रमुख भएपछि सिलवालले सेवाबाट नै राजिनामा दिएका थिए । अझै रोचक कुरा त प्रहरी प्रमुख हुन नपाएका सिलवाललाई नेकपा एमालेले ललितपुरबाट प्रतिनिधिसभा चुनाव सदस्यमा उठायो र उनले जितेका पनि छन् ।

भुकम्पका कहरबीच आर्थिक वृद्धि
भूकम्प गएको २ वर्ष बितिसक्दा पनि भूकम्प पीडितले अझैसम्म पनि सास्ति पाइरहे । यो वर्ष पनि तराईमा बाढी र पहाडमा पहिरोले ठूलो क्षति पुर्यायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अहिलेसम्मकै उच्च आर्थिक वृद्धिद्धर हासिल गर्यो ।

०७४ साउन २७ गते रातीदेखि परेको अविरल वर्षाका कारण तराईमा बाढी आयो । बाढीमा परी १ सय २३ जनाको ज्यान गयो भने ३९ जना घाइते र ३५ जना बेपत्ता भए । करोडौ रुपैंयाको क्षति पुगेको छ । पहिरोमा परेर १४ जनाको ज्यान गयो ।

नेपालको अर्थतन्त्रमा पनि यो वर्ष निकै राम्रो देखियो । प्रचण्ड नेतृत्वको सरकारको समयमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २३ वर्ष यताकै उच्च बिन्दुमा पुगेको बताएको छ । नेपालको आर्थिक वृद्धिदर बजार मूल्यका आधारमा साढे ७ प्रतिशतले बढेको विश्व बैंकले जनाएको हो ।

विश्व बैंकको नेपाल विकास सूचना अनुसार पछिल्ला वर्षमा सक्रिय मनसुन, विद्युत उपलब्धता, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको गति लगायत कारणले आर्थिक वृद्धिदर साढे ७ प्रतिशत पुगेको जनाएको हो ।

यद्यपि आर्थिक वृद्धिमा अझै धेरै चुनौती रहेको विश्व बैंकले जनाएको छ । सन् २०१५ मा नेपालको कुल ग्रार्हस्थ उत्पादन ३ दशमलब ३ प्रतिशतमा झरेको थियो भने त्यसको एक वर्षपछि सन् २०१६ मा १४ वर्ष यताकै सबैभन्दा कम बिन्दू अर्थात शून्य दशमलब ४ प्रतिशतमा झरेको थियो ।

अहिले नेपालको पर्यटन क्षेत्रमा सुधार आएको, थोक तथा खुद्रा व्यापार सामान्य हुँदै गएको, यातायात क्षेत्रमा समेत उल्लेख्य सुधार आएको, भूकम्पका कारण रोकिएका १ सय मेगावाट भन्दा बढि जलविद्युत आयोजना समेत संचालनमा आउन थालेको विश्व बैंकले जनाएको छ । आर्थिक वृद्धिदर बढेपनि नेपालमा निर्यात भन्दा आयात उच्च रहेको विश्व बैंकको भनाई छ ।

नेपालमा अंग्रेजी वर्ष ०१७ शेयर बजारको लागि सामान्य रह्यो । वर्षको सुरुमा १ हजार ४ सय ६५ दशमलब ७२ अंकमा रहेको शेयर बजार नेप्से वर्षको अप्रिल महिनामा सबैभन्दा उच्च १ हजार ७ सय ३ दशमलब ७ अंकमा पुगेको थियो । तर वर्षको अन्तिम दिनमा शेयर बजारमा भारी गिरावट आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*