मुलुक आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ–उपराष्ट्रपति पुन

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०४:४९

काठमाडौँ, २५ मंसिर (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक संक्रमणको अन्त्य भई अब आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

आज यहाँ नवौँ मानवअधिकार राष्ट्रिय महाभेलाको समापन समारोहमा उहाँले देशमा हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तथा नयाँ जनादेशबाट गठन हुने सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने र आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका लागि दलहरुले खेलेको भूमिकाको सराहना गर्दै एक आपसमा सहमति र सहकार्यबाट देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गरिब वर्गलाई राज्यको मूलधारमा नल्याएसम्म मुलुकमा आर्थिक समृद्धि कायम हुन नसक्ने र मानव अधिकारसमेत प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्दैन्, उहाँले भन्नुभयो, “विगतमा मानवअधिकार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयमा केन्द्रित थियो, ७० को दशकमा सामूहिक अधिकारका रुपमा व्यापक प्रचलनमा ल्याइयो, अहिले शान्ति, लोकतन्त्रका साथै गरिबी र भोकमारीको अन्त्य गर्ने सन्दर्भमा जोडिएको छ ।”

उपराष्ट्रपति पुनले बाल श्रम, घरेलु हिंसा, युवा जनशक्ति विदेशिन परेका विषयवस्तु समेत मानव अधिकारको क्षेत्रभित्र समेटिनपर्नेमा पनि जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी तथा अधिकारकर्मी कपिल श्रेष्ठ र डा मीना आचार्यलगायतले सो अधिकार सास्वत अधिकार भएको बताउँदै विभेदको अन्त्य गर्नुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*