प्रदेश प्रमुख नियुक्त नगरेकोमा आयोग गम्भीर, सरकारलाई लेख्यो पत्र

निर्वाचन आयोले प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई फेरि आग्रह गरेको छ। आयोगको आज बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको हुनाले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गर्नका लागि प्रदेश प्रमुखको नियक्ति गर्न आग्रह गरेको हो।
७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयबारे ढकालले भने, ‘प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने कानूनी बाध्यताका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको छ।
तसर्थ, यथाशीघ्र प्रदेश प्रमुखको नियुक्ति हुने ब्यवस्था मिलाउन नेपाल सरकारलाई पुनः अनुरोध गरी गृह मन्त्रालय मार्फत लेखी पठाउने निर्णय भएको छ।” राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते हुने गरी सरकारले मिति तोकेको छ। सोही अनुसार निर्वाचन आयोगले निर्वाचन कार्यतालिकासहितको तयारी तीव्र रुपमा अगाडि बढाएको छ।