यस्तो छ प्रदेश प्रमुखले पाउने सेवा सुविधा

सरकारले बुधबार ७ वटै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । प्रदेश नम्बर १ मा डाक्टर गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रमुख तोकिएको हो । प्रदेश प्रमुख तोकिएलगत्तै उनीहरुले पाउने सेवासुविधाबारे जिज्ञासा लिनेहरु धेरै छन् ।
प्रदेश प्रमुखले पाउने सेवा सुविधा :
प्रदेश सञ्चालन ऐनले प्रदेश प्रमुखले पाउने सेवा सुविधा तोकेको छ । प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार रुपैयाँ हुन्छ । यसबाहेक हरेक वर्ष पोशाक सुविधा बापत १८ हजार रुपैयाँ छुट्टै पाइन्छ ।
अतिथि संस्कार तथा भैपरि खर्च ४० हजार रुपैयाँ तोकिएको छ । ऐनको अनुसुची २ मा प्रदेश प्रमुखले पाउने भत्ता र बिमाको सुविधा पनि तोकिएको छ । बीमा, पोशाक र भत्ता बाहेक नै प्रदेश प्रमुखको तलबभत्ता प्रत्येक महिना १ लाख ४ हजार रुपैयाँ हुन्छ ।
प्रदेश प्रमुखले १ लाख ५० हजारको बीमा सुविधा पाउँछन् । विदेश भ्रमण गर्दा प्रदेश प्रमुखले २ सय ५० अमेरिकी डलर भत्ता पाउने व्यवस्था छ । त्यस्तै देशभित्रै भ्रमण गर्दा ३ हजार रुपैयाँका दरले प्रतिदिनको भत्ता पाउने व्यवस्था गरिएको छ ।