कोको जाँदै छन् एमालेबाट राष्ट्रियसभामा ? यी हुन् सिफारिसमा परेका

माघ २४ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको छ। माअोवादी केन्द्रसँग गठबन्धन गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लडेको एमालेले राष्ट्रियसभाका ५६ सिटमध्ये २९ सिट पाउने भएको छ। १४ सिटमा माअोवादी केन्द्रले उम्मेदवारी दिने र बाँकीमा अन्य दलसँग मिलेर उम्मेदवार उठाइने वाम गठबन्धनबीच सहमित भएको थियो।
यसै क्रममा २९ सिटका लागि एमालेले सम्बन्धित प्रदेश संगठन कमिटीबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ, जसअन्तर्गत हालसम्म ५ नम्बर प्रदेश संगठन कमिटीले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा बुझाएको छ। प्रदेश नम्बर १ र ६ बाट भने हालसम्म सम्भावित उम्मेदवारहरूको नाम पनि सिफारिस गरिएको छैन।
एमालेलेको स्थायी समिति बैठकले एक सिटका लागि बढीमा तीन जनाको नाम सिफारिस गर्न जिल्ला तथा प्रदेश कमिटीलाई निर्देशन दिए पनि अधिकांश प्रदेशबाट तोकिएभन्दा बढी नाम सिफारिस भएका छन्।
को कहाँबाट सिफारिसमा परे?
राष्ट्रियसभाको उम्मेदवारका लागि प्रदेश नम्बर- २ बाट एमालेले खुला एक सदस्य पाएको छ। जित्ने दाबी गरिएको एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र यादव, धर्मनाथ साह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरञ्जिवी आचार्यको नाम सिफारिस गरिएको छ।
यसैगरी प्रदेश नम्बर- ३ मा एमालेले जिल्लाबाट सिफारिसमा नपरेकाहरूको नामसमेत पठाएको छ। जिल्लाबाट सिफारिसमा नपरे पनि राष्ट्रियसभामा आवश्यक व्यक्तित्वको नाम थपेर केन्द्रमा सिफारिस गरिएको बताइएको छ।
प्रदेश नम्बर- ४ मा एमालेलेको भागमा चार सदस्य परेका छन्, जसअन्तर्गत खुला सदस्यमा प्रदेश नम्बर- ४ का सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरिएको छ। अपांगता भएकाका तर्फको एक सिटमा स्याङ्जाका रामबहादुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सूर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ। दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दीपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस गरिएको छ।
प्रदेश नम्बर- ५ बाट सबैभन्दा धेरै १०० बढीको नाम सिफारिस भएको छ। प्रभावशाली नेताहरू अनेरास्ववियुका पूर्व अध्यक्षद्वय खिमलाल भट्टराई र ठाकुर गैरे पनि सिफारिसमा परेका छन्। गएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेका अधिकांश प्रभावशाली युवा नेताले टिकट पाउँदा खिमलाल र ठाकुर छुटेका थिए। एमालेले प्रदेश नम्बर- ५ मा दुई खुला सदस्य पाएको छ। प्रदेश संगठन कमिटीले प्रदेश संयोजक विष्णु पौडेललाई स्थायी कमिटीमा नाम सिफारिस गर्ने अधिकार दिएको बताइएको छ।
प्रदेश नम्बर- ७ को एमाले प्रदेश संगठन कमिटीले एमालेको भागमा परेको चार सिटका लागि प्रत्येक कोटामा तीन/तीन जनाको नाम सिफारिस गरेको छ। खुला सदस्यको एक सिटमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, विक्रम शाही र अछामका अध्यक्ष शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ। यसरी नै दुई महिला सिटका लागि छ जनाको नाम सिफारिस भएको छ, जसअन्तर्गत डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै सावित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हीरादेवी अवस्थी रहेका छन्। दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेहीको सिफारिस भएको छ। एमाले नेता भानुभक्त ढकाल २९ सिटका लागि देशभरबाट डेढ सय बढीको सिफारिस आएको बताउँछन्।
सिफारिस आएका नाममध्येबाट विगतमा कुनै अवसर लिनबाट छुटेकाहरूलाई प्राथमिकता दिएर पार्टीले उम्मेदवार निर्णय गर्ने नेता ढकालले बताए। ‘सिफारिस त धेरै जनाको आएको छ। २९ सिटका लागि करिब डेढ सय जनाको नाम सिफारिस भएको छ’, नेता ढकालले भने, ‘विगतमा अवसर लिनबाट बञ्चित नेताहरूलाई प्राथमिकता दिइनेछ। केही छुटाउनै नहुने व्यक्तिहरू पनि पर्न सक्नुहुन्छ। त्यो पार्टीले निर्णय गर्नेछ।’