जीतपुरसिमराले पायो चार जना प्रदेशसभा सासंद

प्रदेश २ को प्रदेशसभामा एउटै स्थानीय तहबाट चार जनाले प्रतिनिधित्व गर्ने भएका छन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिका चार सांसद हुने भएका हुन्। प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई जना निर्वाचित गराएको उपमहानगरले समानुपातिकमा पनि दुई जना सासंद पाएको छ।
कांग्रेसले समानुपातिक सूची सच्याएपछि प्रदेश सभामा जीतपुर सिमरा–१ सिमराकी शोभाकुमारी लामा सांसद बन्ने भएकी हुन्। आदिवासी जनजातीको सूची नमिलेपछि कांग्रेसले सलमा खातुनको नाम हटाएर लामाको नाम समावेश गरी निर्वाचन आयोगमा सूची पेश गरेको हो। यसअघि एमालेले जीतपुरसिमरा–२१ अम्लेखगञ्जकी सीता गुरुङलाई समानुपातिकबाट सांसद बनाएको थियो।
प्रत्यक्षतर्फ जीतपुर सिमरा–१६ पीलुवाकी ज्वालाकुमारी साह माओवादी केन्द्रबाट बारा ३(१) मा र जीतपुर सिमरा–२ औराहाका सुन्दर विश्वकर्मा एमालेबाट बारा ४(१) बाट निर्वाचित भएका थिए।