मुख्यमन्त्रीको मासिक तलब ६१ हजार, यस्तो छ सेवा–सुविधा

मुलुक अहिले नयाँ संरचना अर्थात् प्रादेशिक संरचनामा गएको छ । जसअनुसार सातओटा प्रदेशमा प्रदेशप्रमुखदेखि मुख्यमन्त्रीसमेत धमाधम नियुक्त हुन थालेका छन् ।
संविधानले तीन तहको राज्य संरचना परिकल्पना गरेअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गरी प्रादेशिक संरचनामा जाँदा नेपालीहरु एक प्रकारको उमंग र उत्साहमा छन् ।
नयाँ संविधानअनुसार बनेका सात प्रदेशमा निर्वाचन सम्पन्न भएसँगै मुख्यमन्त्री, सभामुख, मन्त्रीलगायतका पदमा धमाधम नियुक्त हुँदैछन् ।
प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित जम्मा ५५९ प्रदेशसभा सदस्य देशैभर छरिएका छन् ।
प्रदेश सन्चालनको मुख्य भूमिकामा रहने मुख्यमन्त्रीमा प्रदेश नम्बर–१ मा शेरधन राई, प्रदेश नम्बर–२ मा लालबाबु राउत, प्रदेश नम्बर–३ मा डोरमणि पौडेल, प्रदेश नम्बर–४ मा पृथ्वीसुब्बा गुरुङ, प्रदेश नम्बर–५ मा शंकर पोखरेल, प्रदेश नम्बर–६ मा महेन्द्रबहादुर शाही र प्रदेश नम्बर–७ मा त्रिलोचन भट्ट चयन भइसकेका छन् ।
प्रदेश–३ का पौडेलले त पदभार नै सम्हालिसकेका छन् । सातओटै प्रदेश गठनसँगै मुख्यमन्त्रीको तलब र सेवा–सुविधा पनि चासोको विषय बनेको छ ।
प्रदेशसभाको मर्यादाक्रममा सातौं स्थानमा रहने मुख्यमन्त्रीको सेवा–सुविधा केन्द्रीय मन्त्रीसरह तोकिएको छ । जसमा मासिक पारिश्रमिक ६० हजार ९७० रुपैयाँ रहनेछ भने पोसाक सुविधाबापत प्रत्येक वर्ष १८ हजार, मासिक अतिथि सत्कारका लागि दुई हजार रुपैयाँ तथा भैपरी खर्चबापत ४० हजार रुपैयाँको सुविधा दिइनेछ । तीबाहेक फर्निचर खर्च १५ हजार र यातायात सुविधा पनि पाउनेछन् ।
स्वदेश भ्रमणमा दिनको तीन हजार रुपैयाँ र विदेश भ्रमणमा जाँदा दिनको २५० अमेरिकी डलरको सुविधा पाउनेछन् ।
मुख्यमन्त्रीलाई १५ लाखको जीवनबिमा गरिन्छ । मुख्यमन्त्रीको निधन भएमा परिवारका सदस्यलाई आर्थिक सहायताबापत दुई लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
मुख्यमन्त्रीको सचिवालयमा १२ जना कर्मचारी रहनेछन् । जसमा प्रमुख स्वकीयसचिव, सहस्वकीयसचिव, उपस्वकीयसचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक, रहनेछन् ।
सवारीचालक दुईजना र कार्यालय सहयोगी एकजना राख्न पाउने व्यवस्था छ ।