एमाले स्थायी कमिटी बैठक बस्दै, मन्त्रीपरिषद आजै विस्तार हुन सक्ने

ए वान डेस्क
११ फाल्गुन २०७४, शुक्रबार ०९:०८

पार्टी एकता, सरकार विस्तार लगायत विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा शुरु हुने बैठकमा मन्त्रीपरिषद विस्तारसँगै मन्त्री बन्नेहरुको नामबारे छलफल हुनेछ । माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँडबारे मोटामोटी सहमति भइसकेकाले आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्ने मन्त्रीहरुको नाम टुंगो लगाएर आजै मन्त्रीपरिषद विस्तार गर्ने सम्भावना पनि रहेको एमालेका नेताहरुले बताएका छन् ।

एमाले र माओवादी केन्द्रबीच बिहीबार संघमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदसहित १८ वटा मन्त्रालय राख्ने तथा एमालेले ११ र माओवादीले ७ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको हो । तर संघीय समाजबादी फोरम पनि सरकारमा आउन सकारात्मक भएकाले फोरमलाई दुई वा तीन मन्त्रालय दिनुपर्ने भए त्यसै अनुसार मन्त्रालय बाँडफाँट गर्न एमाले र माओवादी सहमत छन् ।

एमाले स्थायी कमिटी बैठकमा सङ्घीय समाजवादी फोरमलाई सरकारमा ल्याउने र माओवादीसँगको पार्टी एकताका बाँकी काम लगायतका विषयमा पनि छलफल हुने एमालेका नेताहरुले बताएका छन् ।

पार्टी एकीकरणका लागि एमाले र माओवादी केन्द्रले गठन गरेका दुई कार्यदलले राजनीतिक र सांगठनिक प्रतिवेदन तयार गर्न हिजैदेखि काम थालिसकेका छन् । कार्यदलले यही २५ गतेभित्र एकिकरणबारे प्रतिवेदन तयार पार्ने जिम्मा पाएका छन् । प्रतिवेदन तयार पारेपछि पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी रहेको दुवै दलका नेताहरुले बताएका छन् ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*