आफ्नाे सरकारले सिफारिस गरेकालाई राष्ट्रियसभामा मनोनित गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले आफ्नो सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गर्ने भएको छ ।
कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदको शनिबार सिंहदरबारमा बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनित गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँहरु तीनै जनाले आफूलाई नै राष्ट्रियसभामा मनोनयन गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो । कांग्रेस नेतृत्वको सरकाले उहाँलाई राष्ट्रियसभामा सिफारिस गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको त्यो सिफारिस फिर्ता लिँदै युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रियसभामा सिफारिस गर्नुभएको थियो । त्यो सिफारिस अनुसार राष्ट्रपतिले खतिवडा, बिडारी र पौडेल राईलाई राष्ट्रियसभामा मनोनयन गरिसक्नु भएको छ ।
यस्तै कांग्रेस सांसदको बैठकले संसदीय दलको विधान पनि अनुमोदन गरेको छ । यसअघि यो विधान कांग्रेसको केन्द्रिय समितिले पारित गरेको थियो । बैठकमा छाया सरकार गठन गर्ने विषयमा अहिले छलफल चलिरहेको नेता विश्वकर्माले बताउनुभयो ।
यस्तै शनिबारको बैठकका आधारमा आइतबार बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यसबारे निर्णय गर्नेछ । कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरि ७६ जना सांसद छन ।
उज्यालो अनलाईनबाट