फोरमसँग सहमति गरेर बलियो सरकार बनाउने ओलीको प्रयास

फाईल फोटो
ए वान डेस्क
१६ फाल्गुन २०७४, बुधबार १३:२४

सरकार सञ्चालनका लागि वाम गठबन्धनसँग स्पष्ट बहुमत छ । झण्डै दुई तिहाई मत भएपनि सरकारलाई अझै बलियो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमलाई सहमतिमा ल्याउने प्रयास गरिरहनुभएको छ । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक छलफल गरेपछि फोरम पनि सरकारमा सहभागी हुन सहमत भैसकेको छ ।

मुख्य सत्तारुढ दल नेकपा एमाले संविधान संसोधनका लागि तयार भएपछि संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको हो । राष्ट्रिय सरकारको स्वरूप दिन र अन्तर्राष्ट्रिय रूपमा नेपालमा बनेको अहिलेको सरकार वामपन्थीको मात्र होइन भन्ने सन्देश दिन पनि फोरमलाई ल्याउने प्रयास भईरहेको नेताहरुले बताएका छन् ।

विगतमा तिक्ततापूर्ण सम्बन्ध रहेका फोरम र एमाले चुनावपछि सरकार गठनका विषयमा पटकपटक छलफल हुँदै आईरहेको छ । संविधान संसोधन र सरकारमा फोरमको सहभागिताका बारेमा छलफल गर्न बुधबार पनि दुई दलबीच वार्ता हुने एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मंगलबार दुवै दलका नेताबीच भएको वार्ता सकारात्मक भएको र बुधबार निर्णायक छलफल हुने संभावना रहेको पनि ज्ञवालीले बताउनुभयो ।

‘संविधानका कुन कुन धारामा कस्तो संशोधन गर्ने भन्ने विषय टुंगिसकेको छैन’ उहाँले भन्नुभयो, ‘आवश्यक र औचित्यका आधारमा हामी संशोधन गर्न तयार छौं ।’ फोरमले उठाउँदै आएको कतिपय मुद्धाहरुमा सरकारको ध्यानाकर्षण भएको बताउँदै ज्ञवालीले यस विषयमा खुल्ला छलफल गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो । संविधान संशोधन राष्ट्र र जनहितका लागि हुनुपर्नेमा जोड दिंदै उहाँले जायज मागको संवोधन हुने बताउनुभयो । माओवादी केन्द्रका एक नेताका अनुसार सरकारमा आउन फोरमले ‘फेस सेभ’ गर्न खोजेकाले त्यस विषयमा छलफल भैरहेको छ ।

सरकारमा सहभागिताका लागि फोरमले विगतमा भएको २२ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, संघीय सीमांकन आयोग गठनसम्बन्धी प्रावधान राख्नुपर्ने लगायतका विषयमा छलफल हुने भएको छ ।

फोरमलाई सरकारमा ल्याउन संविधान संशोधन प्रस्ताव ३५ दिनभित्र संसदमा दर्ता गराउन कार्यदल गठन गर्ने र एक मन्त्री र एक राज्यमन्त्री दिन वामगठबन्धन लागि परेको छ । तर फोरमले दुई मन्त्रालय र प्रतिनिधिसभाका उपसभामुख पाउनु पर्ने माग गरेको स्रोतले जनाएको छ ।

एमाले–माओवादी वाम गठबन्धनलाई केन्द्रमा सरकार सञ्चालनका लागि प्रतिनिधिसभाका कुल १३७ सांसद आवश्यक पर्छ । वाम गठबन्धनसँग संसद्को २७५ सदस्यमध्ये १७४ अर्थात् ६३ दशमलव २७ प्रतिशत मत छ । गठबन्धनसँग दुईतिहाइ नजिक मत रहँदा पनि सरकार बलियो छ भन्ने सन्देश दिन वाम गठबन्धनले १६ सिट रहेको संघीय समाजवादी फोरमसँग सहमति गर्न लागेका हुन् ।

स्रोतका अनुसार बुधबार फोरमसँग लिखित सहमतिको तयारी भैरहेको छ । फोरमसँग सहमति भएपछि मन्त्रिपरिषदले पूर्णता पाउने नेताहरुले बताएका छन् ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*