प्रदेश दुईको मन्त्रिपरिषद विस्तार, काे-काे बने मन्त्री ?

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।
फोरम र राजपाबाट मन्त्री बनेका चार जनालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र फोरमबाट राज्यमन्त्री बनेका तीन जनालाई मुख्यमन्त्री राउतले आज दिउँसो १ बजे जनकपुरमा शपथ खुवाउनु भएको हो । फोरमका सबै मन्त्रीले मातृभाषा मैथिली र भोजपुरीमा शपथ खानु भएको थियो भने राजपाका २ मन्त्रीले हिन्दी भाषामा शपथ खानु भएको थियो ।
फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानूनमन्त्री बन्नु भएको छ भने शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त हुनु भएको छ । यस्तै राजपाका नवलकिशोर साह सामाजिक विकास र रामनरेश राय उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बन्नु भएको राजपाका नेता केशव झाले जानकारी दिनुभयो ।
यस्तै फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानून, योगेन्द्र राय यादव भूमि, व्यवस्था, कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त हुनु भएको छ ।
यसअघि राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको थियो भने फोरमबाट विजय यादव अर्थमन्त्री बन्नु भएको थियो । यससँगै प्रदेश २ मा अहिलेसम्मकै ठूलो १० सदस्यीय मन्त्रीपरिषद गठन भएको छ ।