३३४ मध्ये ४२ सांसद्ले लिँदैछन् मातृभाषामा शपथ, नौ जनाले हिन्दीमा

प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन्। संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो। नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ। तोकिएको समयभित्र ४२ निवेदन परेका छन्।
आइतबार सांसदहरूको शपथ हुँदैछ। सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने भएका छन्। जसमध्ये १३ प्रतिनिधिसभा र चार राष्ट्रिय सभाका सदस्य छन्। त्यसबाहेक हिन्दीमा नाै, भोजपुरीमा पाँच, थारूमा तीन, मगरमा दुई, बज्जिकामा दुई तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन्।
नौ सांसद्ले हिन्दी भाषामा शपथ लिँदै
नौ सांसदले हिन्दी भाषामा शपथ लिने भएका छन्। जसमध्ये प्रतिनिधिसभाका अाठ र राष्ट्रिय सभाका एक सांसदले हिन्दी भाषामा शपथ लिनेछन्। हिन्दी भाषामा शपथ लिने प्रतिनिधिसभाका सांसदमा राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सरिता गिरी, प्रमोद शाह, चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डल छन्। राष्ट्रिय सभाका सदस्य रमेश यादवले पनि हिन्दी भाषामा शपथ लिने भएका छन्।
निवर्तमान सभामुखले मगर भाषामा शपथ लिँदै
निवर्तमान सभामुख ओनसरी घर्तीले मगर भाषामा शपथ लिने भएकी छिन्। उनीसँगै श्रीमान् अर्थात् माओवादी नेता वर्षमान पुनले पनि मगर भाषामै शपथ लिने भएका छन्। उनीहरूले शुक्रबार संघीय संसद् सचिवालयमा पुगेर मगर भाषामा शपथ लिन नाम दर्ता गराएका हुन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बज्जिका भाषामा शपथ लिने
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्र राय यादवले अन्य सांसदलाई शपथ गराउनुअघि आइतबार अपराह्न १ बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्। उनले बज्जिका भाषामा शपथ लिने भएका छन्। संघीय संसद् सचिवालयमा उनले बज्जिका भाषाबाट शपथ लिने भन्दै निवेदन दिएका छन्।
अरूलाई नेपालीमै गराउने
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्र राय यादव आफूले बज्जिका भाषामा शपथ लिए पनि अन्य सांसदलाई भने नेपाली भाषामै शपथ गराउने भएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले ज्येष्ठ सदस्यले अन्य सदस्यलाई नेपाली भाषामा शपथ गराउने बताए।
नया पत्रिकाबाट