सासंदहरुले लिए सपथ

ए वान डेस्क
२० फाल्गुन २०७४, आईतवार १८:१३

संघीय संसदका सांसदको अाइतबार पद तथा गाेपनियताकाे शपथ ग्रहण लिएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको ३ महिनापछि आइतबार बल्ल सांसदले शपथ लिएका हुन् । अब राष्ट्रियसभाका सदस्यको साँझ ५ बजे सपथ ग्रहणका लिँदैछन् ।

प्रतिनिधिसभाका सदस्यलाई ज्येष्ठ सदस्य ७५ वर्षे महन्थ ठाकुरले शपथ खुवाउनुभएको हाे । राष्ट्रियसभाका सदस्यले भने राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टबाट शपथ लिनेछन् ।

नागरिकतामा ८० वर्ष उल्लेख भए पनि वास्तविक उमेर ६३ वर्ष मात्र भएका कारण राजपाका नेता महेन्द्रराय यादव अाइतबारकाे शपथ कार्यक्रममा उपस्थित नभएपछि सांसद ठाकुरलाई शपथ खुवाउने अवसर जुरेको हो ।

यसअघि यादवबाटै शपथ गराउने तयारी संघीय संसद सचिवालयले गरेको थियो । आफ्नो नागरिकताको र वास्तविक उमेरका बारेमा विवाद भएपछि नेता यादवले शपथमा उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी गराउनुभएको थियो । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान रहेकाे छ ।

कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन गएको मंसिर १० र २१ गते र ५६ सदस्यीय राष्ट्रियसभाको माघ २४ गते भएको थियो । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान गर्नुभएको छ ।

राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेल राईलाई तत्काल शपथ नगराउन सर्वाेच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरूले शपथ लिन पाउनुभएन ।

कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका रेशम चौधरी पनि सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन । कीर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवाल भने सपथ कार्यक्रममा सहभागी हुनुभएको छ । चौधरी व्यक्ति हत्याको अभियोगमा कैलालीमा थुनामा छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा प्रतिनिधिसभाका ३८ जानले सपथ लिनुभएको छ । त्यस्तै राष्ट्रियसभामा ६ जना सांसदले मातृभाषमा सपथ लिने जानकारी गराएको संघीय संसद सचिवालयले जनाएको छ ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*