समयको माग अनुसार संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

ए वान डेस्क
३० फाल्गुन २०७४, बुधबार १५:३६

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पार्नु भएको छ ।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद, राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘संविधान समयको मागअनुसार संसोधन हुन्छ ।’ यही क्रममा ओलीले भन्नुभयो ‘तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संसोधन हँुदैन । देशलाई थप मजवुत तर एकतावद्ध पार्नका लागि संशोधन हुन्छ ।’

प्रधानमन्त्रीओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताउनुभएको छ । अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने बताउनुभएको छ । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याउनु भएको छ ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने , लोकतन्त्र नहुने, सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने, कानुनको राज भयो भने निरंकशुता हुने लोकतन्त्रनहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताउनु भएको छ । ‘यस्ताभ्रममा पर्नु हुँदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो भ्रम के हो आफैँ छुट्याउन सक्छन् ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिनु भएको छ । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निम्ती गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाउनु भएको छ । ‘जनताले जे कुरा मन पराउँछन् त्यो गर्नुहोस्, जे कुरा मन पराउँदैनन् त्यो गदै नगर्नुहोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले देश बनाउनका लागि सबैले सदुपयोगको सिद्धान्त अपनाउनु पर्ने बताउनु भएको छ । ‘अब हरेक मिनेट समय, हरेकको बुद्धि, हरेकको पसिना, हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यी सबै कुरालाई बुझ्न सकियो भने देश निर्माण हुन समय लाग्दैन ।’ देश भतांभुंग अवस्थामा रहे पनि शुन्य अवस्थाबाट सुधार सुरु गरेर छिटै नै देशलाई यसरी समृद्ध बनाउन आफूहरु प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कार्यक्रममा नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिति थियो ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*