एमाले–माओवादी एकतापछि चुनाव चिन्ह ‘सूर्य’

ए वान डेस्क
४ बैशाख २०७५, मंगलवार १५:४०

पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन चिन्ह ‘सूर्य’ रहने समझदारी भएको छ ।

पार्टी एकता संयोजन समितिको आजको बैठकले मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् ।

एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिन्ह राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिन्हको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिनुभयो । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिन्ह छन् ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो । अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्को संयोजन समितिको बैठकले निर्णय गर्नेछ ।’

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदनहरु बुझाएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गएको चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा आज बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिनुभएको छ ।

प्रतिवेदनहरुले यही वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने भनी गएको चैत २२ को संयोजन समितिको बैठकमा निर्णय भएको थियो । यसबीच दुई दलका शीर्ष नेताको बैठक नहुँदा त्यो मिति पर सर्र्ने आशंका देखिएका बेला आजको बैठकमा मिति तय गर्न पनि दुई अध्यक्षको समझदारीपछि निर्णयमा पुग्ने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

संयोजन समितिको बैठकलगत्तै अध्यक्षहरु ओली र दाहालबीच बालुवाटारमा आपसी भेटवार्ता सुरु भएको छ । महासचिव पोखरेलले यही वैशाख ५ गते विद्यार्थी भर्ना अभियानका लागि नेता र मन्त्रीहरु काठमाडौं बाहिर जाने भएकाले वैशाख ६ गते मात्रै औपचारिक तयारी हुने जानकारी दिनुभयो । उहाँले दुई अध्यक्ष तयारीमा लाग्ने भएकाले वैशाख ९ गते एकता घोषणा नहुने भन्ने अहिल्यै भन्न नसकिने बताउनुभयो भने केन्द्रका नेता श्रेष्ठले त्यही दिनका लागि तयारी नपुग्ने देखिएको जनाउनुभयो ।

दुवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ मा एकता गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले कार्यदलमार्फत एकता प्रक्रिया थालेका हुन् ।

दुई दलबीच केन्द्रीय समितिमा रहने अनुपात ५०-५० हुनुपर्ने माग माओवादी केन्द्रबाट आएको हो भन्ने प्रश्नमा महासचिव पोखरेलले त्यसरी छलफल नभएको जिकिर गर्दै भन्नुभयो, ‘पार्टी एकता हुने भइसकेपछि त्यस्तो विषय विवाद हुँदैन, व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकताका आधारमा जिम्मेवारी दिइन्छ, हामीले प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक एवं राष्ट्रियसभा निर्वाचनको तालमेलका लागि पृथक–पृथक ढाँचामा उम्मेदवारी तय गरेको अभ्यास हामीसँग छ ।’

महासचिव पोखरेलले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार गरेर एकतापछि एमाले र माओवादी केन्द्र नरही नयाँ दल बन्ने भएकाले ‘जनयुद्ध’लाई हेर्नेजस्ता विवादमा नअल्झिई उन्नत चेतनाका साथ अघि बढ्ने पनि स्पष्ट गर्नुभयो । एमालेले एकताको तयारीका लागि यही वैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*