पार्टी एकताको विषयलाई शुक्रबार अन्तिम रुप दिने : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता नरोकिने बताउनुभएको छ ।
शुक्रबार दुवै पार्टीका कार्यदलले बुझाएका एकतासम्बन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने तयारी भइरहेको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।
रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’
अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै यसमा विलम्ब गर्न नहुने बताउनु भयो ।
पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै अध्यक्षले भन्नुभयो, ‘कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६÷७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’
अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो । अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पूरा गर्न सबैले पहल गर्नुपर्ने बताउनुभएको थियो ।