संसदीय समिति बनाउन किन ढिलाइ ?

संघीय संसद्ले विषयगत संसदीय समिति बनाउन ढिलाइ गरेको छ । नियमावली नबन्दा समिति निर्माणमा ढिलाइ भएको भन्दै आए पनि नियमावली बनिसक्दा पनि उक्त बिषय संसद्को चासोमा पर्न सकेको छैन ।
जेठ २५ गते प्रतिनिधिसभा नियमावली र जेठ २७ गते राष्ट्रिय सभा नियमावली पारित भएका छन् । समितिलाई ‘मिनी संसद्’ का रुपमा लिइन्छ । नियमावलीअनुसार, प्रतिनिधि सभामा १० र राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् । प्रतिनिधि सभामा समितिको संख्या धेरै भयो भन्दै नेपाली कांग्रेसले नियमावली निर्माण प्रक्रियामा असन्तुष्टि जनाएको थियो ।
नियमावली मस्यौदा समितिका अध्यक्ष कृष्णभक्त पोखरेलले सबै मन्त्रालय, विभाग वा निकायको प्रभावकारी अनुगमन होस् भनेर समितिको कार्यक्षेत्र निर्धारण गरिएको बताउनुभयो ।
राष्ट्रिय सभा नियमावली समितिको सभापति परशुराम मेघी गुरुङ हुनुहुन्थ्यो । असार ३ गते संघीय संसद्को संयुक्त बैठकबाट पारित संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ मा २ वटा संयुक्त समिति रहने प्रस्ताव गरिएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।