राप्रपाद्वारा एकता वार्ता स्थगन

ए वान डेस्क
१९ श्रावण २०७५, शनिबार ११:१८

राप्रपाले राप्रपा (प्रजातान्त्रिक) सँग वार्ता प्रक्रिया स्थगन गरेको छ । प्रजातान्त्रिकका नेताहरूले गणतन्त्र र संघीयता स्वीकार गर्नुपर्ने अडान राखेपछि राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार वार्ता स्थगनको निर्णय गरेका हुन् ।

‘शुक्रबार पार्टी पदाधिकारी बैठकमा अध्यक्षज्यूले राजतन्त्र र हिन्दू राष्ट्रका पक्षमा स्पष्ट एवं आधिकारिक धारणा नआएसम्म प्रजातान्त्रिकसँग एकता प्रक्रिया स्थगन गर्न वार्ता टोलीलाई निर्देशन दिनुभएको छ,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने । वार्ता टोलीमा पार्टी उपाध्यक्षद्वय बुद्धिमान तामाङ र टंक ढकाल तथा महामन्त्री राजेन्द्र लिङ्देन छन् । प्रजातान्त्रिकबाट टोलीमा उपाध्यक्ष दीपक बोहोरा, महामन्त्रीद्वय विक्रम पाण्डे र सुनीलबहादुर थापा छन् । वार्ता टोलीबीच दुई चरण वार्ता भएको थियो ।

राप्रपा वार्ता टोलीले राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई भेटेर एकताको प्रस्ताव गरेको छ । ‘दुवै वार्तामा प्रजातान्त्रिकका तर्फबाट स्पष्ट वैचारिक धारणा आएन,’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने, ‘वार्ता समितिमै रहेका महामन्त्री सुनीलबहादुर थापाले गणतन्त्र र संघीयताका पक्षमा अभिव्यक्ति दिएपछि माहोल बिग्रियो । अब स्पष्ट धारणा नआएसम्म वार्ता हुँदैन ।’

प्रजातान्त्रिकमा विवाद

राप्रपा प्रजातान्त्रिकमा राजतन्त्र र हिन्दू राष्ट्रका विषयमा विवाद देखिएको छ । पार्टीका उपाध्यक्ष केशरबहादुर विष्ट तथा नेताहरू राजाराम श्रेष्ठ, विष्णु भट्टराई, कमल शर्मा, रामकुमार सुब्बा, सुरेश आचार्य, सगुन लावतीलगायत राजतन्त्र र हिन्दू राष्ट्रका पक्षमा छन् ।

महामन्त्री सुनीलबहादुर थापा तथा नेताहरू बाबुराम बस्नेत, सुरेन्द्र केसी, मीना स्वर्णकार, किरण गिरी, विष्णुविक्रम थापा गणतन्त्र र संघीयताका पक्षमा छन् । तर, अध्यक्ष पशुपतिशमशेर राणाले कुनै पनि लाइन लिएका छैनन् ।

पार्टी प्रवक्ता राजेन्द्र गुरुङले गणतन्त्र र संघीयताका पक्षमा महामन्त्री सुनीलबहादुर थापाले दिएको अभिव्यक्तिको विरोध गर्दै शुक्रबार विज्ञप्ति निकालेका छन् । उनले हिन्दू राष्ट्रका पक्षमा प्रजातान्त्रिक रहेको उल्लेख गरे पनि राजतन्त्रबारे उल्लेख गरेका छैनन् । ‘राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठकबाट ‘सर्वधर्म समभाव’ सहितको सनातन हिन्दू राष्ट्र एवं सर्वद्र्धनवादी उदारवादको राजनीतिक सिद्धान्तप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको कुरा राप्रपा (प्रजातान्त्रिक) सबैमा स्पष्ट पार्न चाहन्छ,’ गुरुङको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*