एमाले स्थायी समिति बैठक बस्दै, माधव समूहसँग कुनै सम्झौता नगर्ने ओलीको संकेत

एमाले स्थायी समिती बैठक बस्दैछ । पछिल्ला घटनाक्रमबारे औपचारिक धारणा बनाउन अध्यक्ष केपी ओलीले मंगलबार बिहान ११ बिहान स्थायी समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका छन् ।
सरकारले एकाएक संसद् अन्त्य गरेपछि एमाले अध्यक्ष केपी ओलीले आफूनिकट नेताहरूसँग छलफल गरेका छन् । सरकारले ल्याउन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा पनि नेताहरूबीच छलफल भएको छ ।
ओलीले सोमबार राति अबेर विज्ञप्ति जारी गर्दै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको बताएका छन् । ‘केही समययता एमाले र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षड्यन्त्र भइरहेको हामीले देखीरभोगिरहेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वघोषित प्रतिबद्धताविपरीत प्रतिनिधिसभाको चालू अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजित गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन ।’ उनले विज्ञप्तिमा माधव समूहसँग कुनै सम्झौता नगर्ने संकेत गरेका छन् ।