को हुन् किरण गजमेर ? जान्नै पर्ने केहि तथ्य (हेर्नुस् भिडियो)
नेपालकै सबैभन्दा चर्चित सिंगिंङ रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि जितेपछि किरण गजमेर यतिबेला नेपाल तथा विश्वभर छरिएर रहेका नेपाली माझ सर्वाधिक चर्चाको विषय बनेका छन् । हाल अमेरिकामा बस्दै आएका किरण भ्वाइस अफ नेपालमै सहभागि हुन आठ महिना अघि नेपाल आएका थिए ।
https://www.youtube.com/watch?v=lhLohfl6vGM
सन् १९९५ डिसेम्बर ७ अर्थात २०५५ साल मंसीर २१ गते विहिबारका दिन किरणको जन्म बुवा कृष्ण गजमेर र आमा राधिकाको कोखबाट झापाको दमकस्थित खुदनाबारी भुटानी शरणार्थी शिवीरमा भएको थियो ।
सन् १९८८ मा भुटानमा भएको जनगणनापछि त्यहाँ रहेका नेपाली भाषीमाथी दमन शुरु भएको बताइन्छ । त्यसको दूई वर्ष भित्र सन् १९९० सम्म झण्डै एक लाख नेपाली भाषी भुटानी नागरिक आफ्नै जन्मथलोबाट लखेटिएर शरणार्थी जीवन जीउन पूर्वी नेपाल छिरेका थिए । झापा र मोरङका विभिन्न ठाउँमा भुटानी शरणार्थी शिविर बनाएर नेपालले भुटानबाट आएका नागरिकलाई आश्रय दिएको थियो ।
त्यतिबेला नेपाल आँफै राजनीतिक रुपमा कमजोर मुलुक थियो । सशस्त्र द्वन्दको चपेटामा रहेको नेपालका विभिन्न राजनीतिक तथा कुटनीतिक पहलको वे–वास्ता गर्दै भुटानले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नचाहेपछि झापा र मोरङका शरणार्थी शिविरमा रहेका भुटानीहरुको व्यवस्थापनको जिम्मा संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआरले लियो र यूएनएचसिआरकै पहलमा एक लाख १३ हजार भन्दा बढि भूटानी शरणार्थी अमेरिका, अष्ट्रेलिया र युरोपका विभिन्न देशमा पूर्नस्थापीत भए ।
किरण गजमेरको परिवार पनि भुटानी शरणार्थी शिवीरबाट यूनएचसिआरको पूर्नस्थापना कार्यक्रममा समाबेश भएर आजभन्दा १२ वर्ष अघि सन् २००९ मा अमेरिका पुग्यो जतिवेला किरण १४ वर्षका थिए । भुटानी शरणार्थी शिवीरमै विद्यालय शिक्षा आरम्भ गरेका किरणको पढाईले अमेरिका पुगेपछि गति लियो र उनले स्नातकोतर सम्मको अध्ययन पुरा गरे । नेपाली भाषा र नेपाली संगितप्रतिको लगावलाई उनले अमेरिकाबाट नेपाल आएर प्रमाणित गरेका छन् । किरण भ्वाइस अफ नेपालमा आउनु अघिनै दर्जनौं नेपाली गितमा आफ्नो आवाज दिइसकेका गायक हुन् ।
तपाँइलाई थाहा नहुन सक्छ नेपाली चलचित्र राधाको बहुचर्चित गित तिम्रै फोटो सजाउँछु देव्रे छातीमा जस्तो लोकप्रिय गित किरणलेनै गाएका हुन् । मेलिना राई संग सन् २०१६ मा किरणले गाएको यो गित यूटुबमा मात्रै झण्डै ६० लाखले हेरिसकेका छन् । सन् २०१८ मा किरणलेनै गाएको ठुली बोलको गितपनि यूटुबमा सर्वाधिक चर्चित छ । त्यस बाहेक दर्जनौं हिट गित किरणले नेपाली संगित उद्योगमा दिइसकेका छन् । अमेरिकामा हुने नेपाली कार्यक्रमहरुमा स्टेज शोका लागि पनि किरण उतिकै लोकप्रिय छन् ।
भ्वाइस अफ नेपाल सिजन ३ को व्लाइन्ड अडिसनमा देखेर तिमिलाई बोलको गित गाएका किरणले चारैजना कोचहरुलाई फर्काएका थिए । चारैजना कोचको रोजाइमा परेका किरणले टिम प्रमोदबाट उपाधि होडमा आँफूलाई शुरुदेखीनै उभ्याएका थिए । व्याटल राउण्डमा सुरक्षा सेन्चुरीसंग किरणले गाएको जनम जनम जिउँलासंगै बोलको गित सर्वाधिक रुचाइएको थियो । भ्वाइसका हरेक एपिसोडमा एकपछि अर्को सानदार प्रस्तुति दिएका किरण अन्ततः भ्वाइस अफ नेपालको उपाधि जित्न सफल भए ।
उपाधि जितेपछि आफ्नो जन्मथलो झापाको दमक स्थित खुदनाबारी भुटानी शरणार्थी शिवीर पुगेर किरणले देखाएको जन्मभूमी प्रतिको सम्मानले यतिवेला हरेक नेपालीलाई भावुक बनाएको छ ।















