जितपुरसिमराका वडाध्यक्षमाथि आक्रमण

ए वान डेस्क
७ बैशाख २०७९, बुधबार १०:०४

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष एवम् स्थानीय एमाले नेता अस्लम देवानमाथि सांघातिक हमला भएको छ । देवानले आफूलाई एमालेकै स्थानीय नेताहरूले ज्यान लिने उद्देश्यले आक्रमण गरेको आरोप लगाएका छन् ।

मंगलबार बेलुकी ६ः४५ बजे तिर मोनालिसा कोइला डिपो अगाडि ६ वडा अध्यक्ष देवान र उनका दुई दाजु-भाइमाथि आक्रमण भएको अस्लमका भतिजा अरबाग देवानले बताए । तीनै जनाको नारायणी बयोधा अस्पतालमा उपचार भैरहेको छ । मुटुका बिरामीसमेत रहेका वडाध्यक्ष देवानका दाजु नाजिरको अवस्था गम्भीर छ ।

अस्लम देवान २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले टिकट नदिएपछि माओवादीवाट लडेर चुनाव जितेका थिए ।

चुनाव जितिसकेपछि फेरि उनी एमालेमै फर्किएका थिए । अहिले पनि उनी एमालेबाट वडा अध्यक्षको दाबेदार हुन् ।

२०७४ सालको निर्वाचनमा देवानसँग प्रतिस्पर्धा गरेका एमालेका मुस्तकिम अन्सारीले आफूमाथि आक्रमण गराएको आरोप देवानले लगाएका छन् । ‘फेरि पनि एमालेले मलाई नै टिकट दिने पक्कापक्की भएको देखेर मेरो ज्यान लिएर आफूले टिकट लिने योजनासहित आक्रमण भयो,’ उनले भनेका छन् ।

देवानले आफूमाथि हमला गर्न एमाले नेता मुस्तकिम अन्सारी सहित चाँद महमद मिया मन्सुरी, राजामहमद मिया मन्सुरी, अनवारुल मिया मन्सुरी, ईलताफ मिया अन्सारी र सन्तुल्लाह मिया गरी ६ जना संलग्न रहेको आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*