मैले चुनाव हारेपनि ५ बर्ष म घरमा बसिन्, जनता कहा पुगे : राजन पौडेल

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको छ ।
प्रमुखमा माओवादी केन्द्रका राजन पौडेलले उम्मेदवारी दर्ता गरेका छन् भने उपप्रमुखमा कांग्रेसकी युवा नेतृ मेघा शाही उम्मेदवार बनेकी छिन् । पौडेल यसअघिको चुनावमा पनि उम्मेदवार थिए । त्यसबेला पराजित उनी फेरि उम्मेदवार बनेका हुन् ।
बारा जिल्लाका युवा नेता तथा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीका सदस्य रहेका पौडेलसँग जितपुर–सिमरा उपमहानगरपालिका प्रमुखमा दिएका उम्मेदवारी र उनका चुनावी एजेण्डाका विषयमा लोकान्तरका लागि विन्देश दहाल र उद्धव थापाले गरेको कुराकानीको सम्पादित अंश :
अघिल्लो चुनावमा तपाईं पराजित हुनुभएको थियो । फेरि यसपटक गठबन्धनकातर्फबाट उम्मेदवार बनेर आउनुभएको छ । अघिल्लो चुनावमा नै पराजित भइसकेको तपाईंलाई मतदाताले फेरि मत हाल्नुपर्ने आवश्यकता किन पर्यो ?
जितपुर–सिमरा उपमहानगरपालिकामा अघिल्लोपटक पनि म माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार भएको थिएँ । त्यसबेला एमालेले मेयर र उपमेयर जितेको थियो । त्रिपक्षीय प्रतिस्पर्धा भयो । हामी पराजित भयौं । उपमहानगरको नेतृत्व जस्तो हुनुपथ्र्यो त्यो एमालेले दिन सकेन । नेतृत्व दिन उहाँहरू असफल हुनुभयो । सुशासन लगायतको अवस्थामा हेर्ने हो भने जितपुर–सिमरा उपमहानगरपालिका देशभरमै अन्तिमतिर छ ।
अहिले गठबन्धनले मलाई मेयरको उम्मेदवार बनाएको छ । जितपुर–सिमरा उपमहानगरपालिका सुशासन कायम गर्न, विकासका काम, स्वास्थ्य, शिक्षा, वातावरणसँग सम्बन्धित विषयलाई अघि बढाउनका लागि फेरि पनि मेरो उम्मेदवारी आवश्यक भयो ।
अघिल्लोपटक के कारणले चुनाव हार्नुभएको थियो ? यसपटक जित्ने आधार के छन् ?
त्यसबेला तेस्रो चरणमा यहाँ चुनाव भएको थियो । पहिलो र दोस्रो चरणमा माओवादी केन्द्रको प्रस्तुति त्यति राम्रो भएको थिएन । त्यसको मनोवैज्ञानिक प्रभाव पनि यहाँ पर्यो ।
पार्टी पनि विभिन्न फूटबाट गुज्रिएर भर्खरै माओवादी केन्द्र बनेको थियो । सांगठनिक संरचनाको हिसाबले पनि माओवादी केन्द्र व्यवस्थित भइसकेको थिएन । त्यसबेला हामी प्रतिस्पर्धात्मक शक्ति हो भनेर देखाउन पनि कठिन अवस्था थियो । गएको चुनावले यो उपहानगरपालिकामा माओवादी शक्तिशाली छ भनेर स्थापित गर्ने अवसर थियो । त्यसबेला हामीले उपमहानगरपालिकाको २४ मध्ये १० वटा वडामा वडाअध्यक्ष जितेका थियौं ।
अहिले हामी पाँच दलको गठबन्धनमा छौं । अघिल्लो चुनावमा कांग्रेसले हामीले भन्दा धेरै मत ल्याएको थियो । अहिले कांग्रेससहितको गठबन्धनमा चुनावमा छौं । त्यसो हुँदा जीत अझ सहज बनेको छ । अघिल्लोपटक चुनाव हारेपछि म जनताको बीचमा गएँ । यहाँका विभिन्न समस्यालाई सहजीकरण गर्न खोजें । जनताको अप्ठ्यारा, सप्ठ्यारासँग जोडिन गएँ । मेरो क्रियाशीलतामा कुनै कमी आउन दिइनँ ।
डेढ दुई वर्षको अघिदेखि नै जितपुर–सिमरा उपमहानगरपालिकाको मेयर राजन पौडेल नै हो भन्ने स्थापित गर्न सफल भएको छु । यहाँका धेरै विषयमा मैले लिएको पहलकदमीले गर्दा राजनलाई जीताउन पाएको भए पो हाम्रा समस्या सम्बोधन हुने रहेछन् भन्ने जनमानसमा परेको मैले महशुस गरेको छु ।
गठबन्धनको उम्मेदवार बन्नुभयो । चुनावी तयारीका हिसाबले पाँच पार्टी एकआपसमा कत्तिको अन्तरघुलित छ ?
हामी शान्ति प्रक्रियामा आएदेखि नै जितपुर–सिमराको विकासमा कांग्रेससँग राम्रो सहकार्य छ । यहाँको सामाजिक आर्थिक विकासमा हामीले सहकार्य गरेका छौं ।
एमालेसँग भन्दा कांग्रेस र माओवादी केन्द्रले बलियो र लामो सहकार्य गरेको अनुभव छ । एमलेसँगबाट विभाजित भएर आएको एकीकृत समाजवादी हिजो नेकपा कालमा नै राम्रो अन्तरघुलित भएको शक्ति हो । जनता समाजवादी पार्टीसँग पनि लामो समयको सहकार्य र उठबस छ ।
कांग्रेसले मेयरको उम्मेदवार नपाएको र उपमेयरमा पनि जुनियर नेतालाई टिकट दिएको भन्ने असन्तुष्टि रहेछ । यसले कांग्रेसको मत पाउन नसक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
मलाई त्यस्तो लाग्दैन । कतिपय दलमा टिकट वितरणको विषयमा तलसम्म पुग्दा विभिन्न प्रकार समस्या छन् । सबैको इच्छा आकांक्षा सम्बोधन हुन सक्दैनन् । असन्तुष्टिहरू विस्तारै सम्बोधन हुँदै जानेछन् । राजनीतिक तहको बैठक, छलफलबाट त्यसलाई न्यूनीकरण पनि गर्दै जान सकिन्छ ।
तपाईं पाँच दलको साझा उम्मेदवार हो । पाँचै दललाई समेट्ने विशेष विशेषता के छन् ?
केन्द्रबाट नै गठबन्धन बनेको छ । एमालेले देशलाई अस्थिरतामा लैजानका लागि गरेको हर्कतका विरुद्धमा यो गठबन्धन बनेको हो । स्थानीय तहमा हामीले निरन्तर सहकार्य गर्दै आएका छौं । यो गठबन्धन वा भागबण्डा हामीले स्थानीय तहमा गरेको पनि होइन । शीर्ष तहमा सहमतिका आधारमा भएर आएको हो । अब स्थानीय मुद्दाहरूमा पनि हामी साझा रूपमा सहकार्य गरेर जान सक्छौं ।
तपाईंले निर्वाचन जित्नुभयो भने आगामी पाँच वर्षभित्रमा जितपुर–सिमरा उपमहानगरपालिकामा जनताले के–के नयाँ कुरा अनुभूत गर्न पाउँछन् ?
सबैभन्दा पहिले जितपुर–सिमरा उपमहानगरपालिकामा सुशासन कायम गर्छौं । अहिले नगरवासीकै बदनाम भएको छ । अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्छौैं ।
माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहमा सुशासनको हिसाबले उत्कृष्ट छन् । हामी जितपुर–सिमरा उपमहानगरपालिकालाई पनि सोही अनुसारको सुशासन कायम भएको स्थानीय तह बनाउँछौं ।
उममेयरमा कांग्रेसबाट उम्मेदवार बन्नुभएको व्यक्ति पनि पढेलेखेको, युवा हुनुहुन्छ । कानूनका विद्यार्थी पनि हो । न्यायिक अधिकार उहाँले नै प्रयोग गर्ने हो । त्यसले पनि सुशासन कायम गर्न सहयोग मिल्छ ।
यसबाहेक, शिक्षा, स्वास्थ्य, मानव विकास, वातावरण र पूर्वाधार विकासको क्षेत्रका काम गर्छौं । कला साहित्य, संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने, यहाँको भोजपुरी भाषाको संरक्षणमा काम गर्ने योजना बनाएका छौं ।
तपाईंले भन्नुभएका विषय व्यापक क्षेत्र समेटिएका तर सतही कुरा भए । मेयर भएपछि तपाईंले गर्ने अझ मसिनो गरी उल्लेख गरिदिनुहोस् न ।
सरकारी विद्यालयको आवश्यकता हेरेर त्यस अनुसारका सुधारका योजना बनाएर काम गर्नेछौं । कोभिड महामारीका बेला सबैलाई थाहा भयो कि स्वास्थ्य क्षेत्र सबैभन्दा महत्त्वपूर्ण रहेछ ।
जितपुर–सिमरा उपमहानगरपालिकामा २०० शय्याको अस्पताल हुनुपर्ने हो । तर, यहाँ निजी क्षेत्रका केही अस्पताल छन् तर सरकारी तबरमा प्राथमिक स्वास्थ्य केन्द्र मात्रै छ । अस्पताल छैन । यसमा पनि काम गर्नुपर्नेछ । यसका लागि संघ र प्रदेशसँग सहकार्य गरेर काम गर्नुपर्ने छ ।
जितपुर–सिमरा औद्योगिक क्षेत्र पनि हो । उद्योग सञ्चालक र स्थानीयको अन्तरविरोधका विविध विषय छन् । यसका के–के काम गर्नुहुन्छ ?
यहाँका उद्योगको कारण ध्वनी प्रदुषण, हावा प्रदुषण आदिको विषय स्थानीयले उठाउने गरेका छन् । उद्योग कलकारखाना चलाउनेहरूले औद्योगिक वातावरण बनेन, बिग्रियो भन्ने गरेका छन् ।
पछिल्लो समय यहाँ लगानी आउन सकेन । लगानी बुटवल भैरहवातिर केन्द्रित भयो भन्ने उद्योगीहरूको पनि गुनासो छ । यहाँ औद्योगिक वातावरण बनाएर रोजगारीको अवसर पनि बढाउनुपर्ने अवस्था छ ।
अर्कोतर्फ, उद्योगहरूले अस्तव्यस्त हुने गरी गरेको प्रदूषण लगायतका विषयलाई पनि मापदण्डमा राखेर नियन्त्रण गर्नुपर्ने चुनौती छ । यो कोणबाट काम गर्ने सोचेका छौं । तर, यसको नियमन गर्ने अधिकार संघीय सरकारसँग छ । संघीय सरकारसँग समन्वय गरेर यो क्षेत्रमा काम गर्छौं ।
पूर्वाधारको विकासमा चाहिँ के–के काम गर्नुहुन्छ ?
जितपुर–सिमरा उपमहानगरपालिका राम्रो टाउन हल पनि छैन । कतिपय वडाहरू बाटोले जोडिन सकेको छैन । ठूला खोला छन्, पुल नभएका कारण वडा नै दुईवटा जस्तो भएको छ । यस्ता पूर्वाधार बनाउनका लागि पनि हामीले काम गर्नैपर्ने छ ।
आमरूपमा हेर्ने हो भने अघिल्लो पाँच वर्षमा देशव्यापीरूपमा हल, गेट र टावर बनाउने योजना आयो । माओवादीले जितेका स्थानीय तह पति यसमा अगाडि नै थिए । तपाईंहरूका पनि त्यस्तै योजना छन् कि फरक छन् ?
आवश्यकताका हिसाबले ती पूर्वाधार चाहियो भने गर्नैपर्ने हुन्छ । तर, हामी मानवीयताका क्षेत्रमा धेरै काम गर्छौं । सामाजिक विकासको क्षेत्रमा नै केन्द्रित भएर काम गर्छौं । सामाजिक विकासको क्षेत्रमा काम गर्नेभन्दा केही विकृति पनि भएका छन् । त्यसका कागजी काम मात्रै भएका छन् । यो विकृतिबाट पर बसेर काम गर्छौं । हामीले स्कूलमा जान्छौं, शुद्ध पिउने पानीको व्यवस्था गर्छौं भनेका छौं ।
जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरको लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखियो । तपाईंको प्रतिस्पर्धी एमाले उम्मेदवारलाई कत्तिको बलियो उम्मेदवार ठान्नुहुन्छ ?
उहाँ (सरस्वती चौधरी)लाई मैले धेरै बलियो उम्मेदवार ठान्दिनँ । उहाँ मेरो सहपाठी साथी पनि हो । हामीले विद्यालयमा सँगै अध्ययन गरेका थियौं । उहाँले उपमेयर हुँदा गरेको काम जनतालाई स्पष्ट छ । अहिले म यसमा धेरै चर्चा गर्न चाहन्नँ किनभने चुनावलाई हामीले सौहार्दपूर्ण प्रतिस्पर्धामा लैजानुपर्छ भन्ने ठानेका छौं । सबै विषय जनताको बीचमा छ । उहाँले उपमेयरको रूपमा एक कार्यकाल काम गरेर आउनुभएको छ । जनताले मूल्यांकन गरेकै छन् ।
स्थानीय तहको चुनाव धान्नै नसक्नेगरी खर्चिलो भयो भन्ने गरिन्छ । चुनावी खर्चको व्यवस्थापन कसरी गर्नुभएको छ ?
म असाध्यै निम्न आयस्रोत भएको परिवारको मान्छे हो । हामीले अघिल्लो चुनावमा त्यति धेरै खर्च गरेनौं । अहिले पनि चुनावमा प्रशस्त खर्च गर्न सक्ने स्थितिमा छैन । हामी एजेण्डा, कामको कुरा लिएर जनतामा जाने हो ।