सिंहदरबार प्रवेश नगरी फर्कियो शिक्षक महासंघको टोली

ए वान डेस्क
१२ बैशाख २०८२, शुक्रबार १६:३९

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग भेटघाटका लागि सिंहदरबार गएको नेपाल शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरेको २५ सदस्यीय नामावलीमा आपत्ति जनाउँदै शिक्षक महासंघ मन्त्रीलाई नभेटेरै फर्किएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्री पन्तसँग औपचारिक भेटका लागि जान लागेको तर विशेष कारणबस फर्किएको बताएका छन् ।

उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौँ, आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं।’

नवनियुक्त शिक्षा मन्त्री पन्त र शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेले आज एकै ब्यहोराका छुट्टाछुट्टै विज्ञप्ति जारी गरी वार्तामा बोलाएका थिए । त्यसको केही घण्टामै वार्तामा बस्न तयार भएका शिक्षकहरू मन्त्रालयले सार्वजनिक गरेको नामावलीमा असन्तुष्ट देखिएको छ।

सरकारले वार्ताका लागि आव्हान गरेपछि महासंघले वार्ता टोली बनाएको थियो । चैत २० गतेदेखि विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका शिक्षक,कर्मचारीहरू आज २४ औँ दिनको आन्दोलन सकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*